सुनकोशी मरिण डाइभर्सनको सुरुङ ‘ब्रेक थ्रू’ को तयारी
तराई मधेशमा वर्षैभरि सिंचाइ सुविधा पुर्याउने लक्ष्यका साथ शुरू गरिएको सुनकोशी मरिण डाइभर्सन आयोजनाको सुरुङको ‘ब्रेक थ्रू’ को तयारी गरिएको छ।
आयोजनाका प्रमुख मित्र बरालका अनुसार कुल १३.३ किलोमिटर लामो सुरुङमध्ये हालसम्म १२.७९ मिटर सुरुङ निर्माण भइसकेको छ। “सुरुङ निर्माणमा उल्लेख्य प्रगति भएको छ। कुनै भौगर्भिक जटिलता उत्पन्न नभएको खण्डमा डेढ महीनाभित्र ‘ब्रेक थ्रू’ गर्ने तयारीमा छौं,” बरालले भने।
मुलुकका अधिकांश राष्ट्रिय गौरवका परियोजनामा समय र लागत दुवै बढिरहेका वेला यस आयोजनाले भने आशा जगाएको छ। सुरुङ खन्दै जाँदा चुरे र महाभारत पर्वत शृंखलाका बीचमा समस्या देखिंदा केही दिन प्रभावित भएको थियो। त्यसलाई समाधान गरेर हाल नियमित रूपमा सुरुङ खन्ने काम भइरहेको आयोजना प्रमुख बरालले बताए।
२०७९ असोज २८ गतेदेखि निर्माण शुरू गरिएको आयोजनामा टनेल बोरिङ मशिन (टीबीएम) प्रयोग गरेर सुरुङ खनिएको छ। यसअघि भेरी-बबई डाइभर्सन आयोजनामा पनि टीबीएमको प्रयोग गरिएको थियो।
सुनकोशी नदीको पानी मरिण खोलामा झारेर विद्युत् उत्पादन गर्ने र तराईका एक लाख २२ हजार हेक्टरमा सिंचाइ सुविधा उपलब्ध गराउने लक्ष्यका साथ आयोजना शुरू गरिएको थियो। सुरुङ निर्माणमा पनि अपेक्षित प्रगति भएको जनाइएको छ। त्यस्तै, आयोजनाको ‘कफर ड्याम’ निर्माण भइरहेको छ।
बाँध निर्माणमा भने अपेक्षित प्रगति भएको छैन। विद्युत्गृह र प्रसारण लाइन निर्माणका लागि आवश्यक तयारी भइरहेको छ। प्रसारण लाइनका लागि वातावरणीय प्रभाव मूल्यांकन सकिएको छ। त्यो स्वीकृतिको अन्तिम चरणमा छ। यस्तै, हाइड्रोमेकानिकल र इलेक्ट्रोमेकानिकलतर्फको काम पनि अगाडि बढाउन लागिएको आयोजना प्रमुख बरालले जानकारी दिए।
सुनकोशी मरिण डाइभर्सन आयोजनाबाट हाल सञ्चालनमा रहेको बीपी राजमार्गको केही भाग प्रभावित हुनेछ। हाल सञ्चालनमा रहेको राजमार्गलाई ९०० मिटर डाइभर्सन गर्नुपर्नेछ।
सुनकोशी गाउँपालिका-७, कानढुंग्रीस्थित सिन्धुली र रामेछाप जिल्लाको सिमाना भएर बग्ने सुनकोशी नदीमा पथान्तरण गरिनेछ। सुनकोशीको करीब ६७ क्युसेक पानीलाई सुरुङ मार्फत सिन्धुलीको कमलामाई नगरपालिका-२, कुसुमटारस्थित मरिण खोलामा खसालिनेछ।
त्यसपछि बागमती सिंचाइ आयोजनाको पूर्वाधार प्रयोग गरेर धनुषा, महोत्तरी, सर्लाही, रौतहट र बाराको करीब एक लाख २२ हजार हेक्टर जमीनमा सिंचाइ गर्ने लक्ष्य राखिएको छ। त्यस्तै, आयोजनाबाट ३१ मेगावाट बिजुली उत्पादन हुनेछ।
आयोजनाको सुरुङ निर्माण चिनियाँ कम्पनी चाइना ओभरसीज इन्जिनीयरिङले गरिरहेको छ। बाँध निर्माणका लागि नेपालको रमण समूहसँग भारतीय कम्पनी पटेल इन्जिनीयरिङले संयुक्त रूपमा काम गरिरहेको छ। बाँध र विद्युत्गृह निर्माणमा केही ढिलाइ भए पनि तोकिएको समयभित्रै पूरा गर्ने निर्माण व्यवसायीको भनाइ छ। २०८४ असोजमा आयोजना पूर्ण रूपमा सम्पन्न गर्ने लक्ष्य राखिएको छ। -रासस