मूर्ति तोडफोड गरेको आरोपमा एक युवक पक्राउ
![मूर्ति तोडफोड गरेको आरोपमा एक युवक पक्राउ](https://www.himalkhabar.com/uploads/posts/800X600/rajdevi-1710392552.jpg)
सर्लाहीको मलंगवा नगरपालिकास्थित राजदेवी मन्दिर र झिलिमिलिया माई मन्दिरका मूर्ति तोडफोड गरेको आरोपमा एक युवक पक्राउ परेका छन्।
मूर्ति तोडफोड गरिरहेको अवस्थामा मलंगवा नगरपालिका-८ का ३३ वर्षीय राकेश बैठालाई पक्राउ गरिएको मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले जनाएको छ। मूर्ति तोडफोड गरिरहेको खबर पाएपछि गएको प्रहरी टोलीले बैठालाई पक्राउ गरेको हो।
उनलाई हिरासतमा राखेर धर्म सम्बन्धी कसूरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। जिल्ला अदालतले पाँच दिन हिरासतमा राख्न अनुमति दिएको छ।
मुलुकी अपराध संहिता २०७४ को परिच्छेद ९ को धर्म सम्बन्धी कसूरमा धार्मिकस्थल वा पवित्र मानिएको स्थानलाई क्षति पुर्याउन नहुने, धार्मिक भावनामा आघात पुऱ्याउन नहुने, धार्मिक रीतिथितिमा बाधा पुर्याउन नहुने, धर्म परिवर्तन गराउन नहुने व्यवस्था छ। यस्तो कसूरमा अपराध गरेको ठहर भएमा पाँच वर्षसम्म कैद र ५० हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ।