पपुवा न्यूगिनीलाई हराउँदै नेपाल फाइनलमा
![पपुवा न्यूगिनीलाई हराउँदै नेपाल फाइनलमा](https://www.himalkhabar.com/uploads/posts/800X600/nepal-1710216817.jpg)
हङकङमा जारी टी-२० प्रतियोगितामा पपुवा न्यूगिनीलाई पराजित गर्दै नेपाल फाइनलमा प्रवेश गरेको छ।
मिसन रोड मैदानमा मंगलबार भएको खेलमा नेपालले दिएको १९९ रनको लक्ष्य पछ्याउने क्रममा पपुवा न्यूगिनी ११३ रनमै समेटिएको हो। पपुवा न्यूगिनीका लागि टोनी उरा र सेसे बउले राम्रो शुरूआत गरेका थिए। प्रारम्भिक जोडीले तीन ओभरमा ३२ रन बनाएको थियो।
टोनीलाई प्रतिश जिसीले १३ रनमा आउट गरेसँगै पपुवा न्यूगिनीका विकेट झर्दै गए। राम्रो साझेदारी हुन सकेन। पपुवा न्यूगिनीका लागि हिरी हिरीले २८, सेसे बउले २१, टोनी उराले १३ र नोसैना पोकनाले १२ रन बनाए। अन्य खेलाडीले दोहोरो अंक पनि जोड्न सकेनन्।
नेपालका लागि कुशल भुर्तेलले चार, प्रतिश जिसीले दुई, आकाश चन्द र गुल्सन झाले एक-एक विकेट लिए।
यसअघि नेपालले ६ विकेटको क्षतिमा १९८ रन बनाएको थियो। नेपालले राम्रो शुरूआत गरेको थियो। प्रारम्भिक ब्याटर कुशल भुर्तेल र विनोद भण्डारीले पहिलो विकेटका लागि ६४ रनको साझेदारी गरेका थिए।
भुर्तेलले ३९ बलमा ५९ रन बनाए। त्यस्तै, भण्डारीले २२ बलमा २७ रन बनाए। रोहित पौडेल एक र आरिफ शेख चार रनमा आउट भए।
त्यसपछि आएका सन्दीप जोराले विस्फोटक ब्याटिङ गरेका हुन्। उनले २६ बलमा ५६ रन बनाए। त्यस्तै, विवेक यादवले १९, गुल्सन झाले १५ र लोकेश बमले १४ रन बनाए।
पपुवा न्यूगिनीका लागि असद भलाले दुई, नोसैना पोकना, जोन कारिको र नर्मन भनुवाले एक-एक विकेटले लिए।
प्रतियोगिताको पहिलो खेल पानी परेपछि अवरुद्ध भएको थियो। नेपाल र हङकङले एक-एक अंक बाँडेका थिए। यो जितसँगै नेपाल तीन अंक जोडेर फाइनलमा प्रवेश गरेको छ।
अर्को खेलमा पपुवा न्यूगिनी र हङकङले प्रतिस्पर्धा गर्नेछन्। विजेता टोली फाइनलमा प्रवेश गर्नेछ। फाइनल खेल बुधबार हुनेछ।