बाढीले क्षति गरेको इँवाखोला जलविद्युत् आयोजना आठ महीनादेखि ठप्प
![बाढीले क्षति गरेको इँवाखोला जलविद्युत् आयोजना आठ महीनादेखि ठप्प](https://www.himalkhabar.com/uploads/posts/800X600/ewa-khola-1709873571.JPG)
गत असारमा आएको बाढीपहिरोले क्षति भएको इँवाखोला जलविद्युत् आयोजना अझै पनि पुनर्निर्माण हुन सकेको छैन।
ताप्लेजुङ र पाँचथरको सिमानाबाट बग्ने इन्द्रावती खोला क्षेत्रमा आयोजना निर्माण गरिएको थियो। आयोजनाको क्षमता ९.९ मेगावाट छ।
तत्कालीन रैराङ हाइड्रोपावर कम्पनीको प्रवर्द्धनमा उत्पादित जलविद्युत् आयोजनाका बाँध, पाइपलाइन, प्रसारण लाइन र विद्युत्गृहमा बाढीपहिरोले क्षति गरेको थियो। आयोजनाको पुनर्निर्माण अहिलेसम्म नसकिंदा विद्युत् उत्पादन ठप्प छ।
जलविद्युत् आयोजनाका विभिन्न संरचना ध्वस्त बनाउँदा ७० करोड रुपैयाँभन्दा बढी क्षति हुन पुगेको प्रारम्भिक अनुमान गरिएको थियो। स्वतन्त्र ऊर्जा उत्पादकको संस्था (इप्पान)का कार्यकारी सदस्य समेत रहेका आयोजनाका कार्यकारी निर्देशक कुवेरमणि नेपालका अनुसार बाढीपहिरोले बाँध, एक किलोमिटर जति पाइपलाइन, विद्युत्गृह र अन्य संरचनामा क्षति गरेको थियो।
बाढीपहिरोले क्षति पुर्याएको संरचनाको मर्मत तथा पुनर्निर्माण अहिले धमाधम भइरहेको उनले जानकारी दिए। पुनर्निर्माणलाई तीव्रता दिंदै आएको र हालसम्म करीब ५० प्रतिशत काम सम्पन्न भइसकेको आयोजनाका स्थानीय जनसम्पर्क अधिकृत टीकाराम मिश्रले बताए। आगामी वैशाखसम्म उत्पादन शुरू गर्ने गरी हाल निर्माणको काम भइरहेको उनले बताए। उनका अनुसार लामो समय सञ्चालन नहुँदा आयोजनाले नोक्सानी खेपिरहेको छ।
आयोजना नजिक रहेको २५ मेगावाट क्षमताको काबेली ‘बी-१’ को विद्युत् उत्पादन भने सञ्चालन भएको छ। अरुण काबेली पावर लिमिटेडको प्रवर्द्धनमा निर्माण भएको काबेली ‘बी-१’ जलविद्युत् आयोजनाको उत्पादन करीब एक महीनाअघिदेखि शुरू भएको हो।
इँवाखोला, काबेली बी-१ लगायत यस क्षेत्रमा रहेका जलविद्युत् आयोजनालाई सोही बाढीपहिरोले क्षति पुर्याएको थियो।