हिउँद सकिएपछि देशका विभिन्न स्थानमा सामान्य वर्षा
![हिउँद सकिएपछि देशका विभिन्न स्थानमा सामान्य वर्षा](https://www.himalkhabar.com/uploads/posts/800X600/rain_1622281174.jpg)
हिउँद सकिएपछि काठमाडौं उपत्यका सहित देशका विभिन्न स्थानमा पानी परेको छ।
जल तथा मौसम विज्ञान विभागका अनुसार गत रातिदेखि देशका विभिन्न स्थानमा सामान्यदेखि मध्यम स्तरसम्मको वर्षा भएको हो। यो वर्ष हिउँदको अवधिमा देशभरि पानी परेको थियो।
जल तथा मौसम विज्ञान विभागले डिसेम्बरदेखि फेब्रुअरी अन्तिमसम्मका तीन महीनालाई हिउँद अवधि मान्छ। मार्च शुरू भएसँगै ‘प्रिमनसुन’ अवधि शुरू हुन्छ।
विभागका अनुसार यस वर्षको हिउँद (मंसीर १५ देखि फागुन १७ गतेसम्म) अवधिमा नेपालमा सरदर १२.५ मिलिमिटर मात्रै पानी परेको छ। सामान्यतया हिउँदको अवधिमा ६०.१ मिलिमिटर पानी पर्नुपर्ने भए पनि औसतको तुलनामा एकचौथाइभन्दा कम मात्रै पानी परेको हो। हिउँदे वर्षा गराउने पश्चिमी वायु सक्रिय हुन नसक्दा यस वर्षको हिउँद वर्षाविहीन भएको थियो।
प्रिमनसुन अवधि शुरू भएसँगै आइतबार पहिलो पटक पानी परेको हो। प्रिमनसुन अवधिमा स्थानीय स्तरमा वर्षा गराउने प्रणाली विकास भई गड्याङगुडुङ सहित पानी पर्छ। वर्षाको रेकर्ड गर्ने १५० मध्ये झन्डै १०० स्टेशनले पछिल्लो १२ घण्टामा निकै थोरै पानी परेको देखाएका छन्।
विभागका अनुसार पछिल्लो १२ घण्टामा कर्णाली चिसापानी क्षेत्रमा सबैभन्दा धेरै पानी २३.८ मिलिमिटर परेको छ। त्यसै गरी पछिल्लो १२ घण्टामा गोरखामा २० मिलिमिटर, मनाङमा १७.२ मिलिमिटर, दाङमा १४.४ मिलिमिटर पानी परेको मौसम स्टेशनहरूले रेकर्ड गरेका छन्। पछिल्लो १२ घण्टामा काठमाडौंको सुन्दरीजल स्टेशनले पनि ८.६ मिलिमिटर वर्षा भएको रेकर्ड गरेको छ।
यद्यपि १५० मध्ये ५० भन्दा बढी स्टेशनले पछिल्लो १२ घण्टामा ती क्षेत्रमा पानी नपरेको देखाएका छन्। जल तथा मौसम विज्ञान विभागले आज रातिसम्म देशका विभिन्न स्थानमा पानी पर्न सक्ने र सोमबारदेखि बादल हट्ने बताएको छ।