क्यानको अनुबन्धनमा ४९ खेलाडी, महिलाभन्दा पुरुषको तलब दोब्बर
नेपाल क्रिकेट संघ (क्यान)ले ४९ खेलाडीलाई तलब दिने गरी अनुबन्धन गर्ने निर्णय गरेको छ तर पुरुषभन्दा महिला खेलाडीको तलब आधा मात्रै तोकेको छ।
क्यानको फागुन १२ र १४ गते बसेको केन्द्रीय कार्यसमितिको बैठकले खेलाडीलाई केन्द्रीय अनुबन्धनमा राख्ने निर्णय गरेको हो। पुरुषतर्फ ३० र महिलातर्फ १९ खेलाडीलाई अनुबन्धन गरिएको क्यानका सचिव पारस खड्काले जनाएका छन्।
पुरुष खेलाडीतर्फ रोहित पौडेल, सोमपाल कामी, करण केसी, दीपेन्द्रसिंह ऐरी, आसिफ शेख र कुशल भुर्तेल समूह ‘ए’ मा परेका छन्। त्यस्तै, समूह ‘बी’ मा कुशल मल्ल, गुल्सन झा, भीम सार्की, ललित राजवंशी, आरिफ शेख र अविनाश बोहरा छन्। विनोद भण्डारी, अर्जुन साउद, सन्दीप जोरा र प्रतिश जीसीलाई समूह ‘सी’ मा राखिएको छ भने समूह ‘डी’ मा पवन सर्राफ, सागर ढकाल, अनिल साह, विवेक यादव, आकाश चन्द, बसिर अहमद र सूर्य तामाङ छन्।
त्यस्तै, इमर्जिङ समूहमा दीपेश कँडेल (कोशी), रूपेश सिंह (मधेश), रिजन ढकाल (बागमती), विपिन क्षेत्री (गण्डकी), देव खनाल (लुम्बिनी), अर्जुन घर्ती (कर्णाली) र हेमन्त धामी (सुदूरपश्चिम) छन्।
महिला खेलाडीतर्फ अनुबन्धन भएका खेलाडीमा समूह ‘ए’ मा इन्दु बर्मा, रुविना क्षेत्री र सीता राना मगर छन्। कविता कुँवरलाई समूह ‘बी’ मा राखिएको छ भने समूह ‘सी’ मा पूजा महतो र अस्मिना कर्माचार्य छन्। अस्परी बेगम, कविता जोशी, संगीता राई, काजोल श्रेष्ठ र बिन्दु रावललाई समूह ‘डी’ मा राखिएको छ।
यस्तै, इमर्जिङ समूहमा सोनी पाख्रिन, खुशी डंगोल, ज्योत्स्निका मरासिनी, कञ्चन श्रेष्ठ, रुबी पोदार, सृष्टि जैसी, सम्झना खड्का र सना प्रविन छन्।
यसरी अनुबन्धन गरिएका खेलाडीलाई दिने तलबमा भने क्यानले विभेद गरेको छ। पुरुष खेलाडीले समूह ‘ए’ मा एक लाख रुपैयाँ पाउनेछन् भने महिला खेलाडीलाई ५० हजार रुपैयाँ मात्रै दिइने क्यान सचिव खड्काले जारी गरेको विज्ञप्तिमा जनाइएको छ।
त्यस्तै, समूह ‘बी’ मा रहेका पुरुष खेलाडीले ७० हजार र महिला खेलाडीले ३५ हजार रुपैयाँ पाउनेछन्। समूह ‘सी’ मा रहेका पुरुष खेलाडीका लागि ५५ हजार र महिला खेलाडीका लागि ३० हजार रुपैयाँ तोकिएको छ।
समूह ‘डी’ मा रहेका पुरुष खेलाडीले ३५ हजार पाउनेछन् भने महिला खेलाडीले २५ हजार रुपैयाँ पाउने भएका छन्। इमर्जिङ समूहका खेलाडीमा पुरुषलाई २५ हजार र महिलालाई २० हजार रुपैयाँ उपलब्ध गराउने क्यानको निर्णय छ।