उच्च र जिल्ला अदालतका दुई न्यायाधीशलाई हटाउन सिफारिश
![उच्च र जिल्ला अदालतका दुई न्यायाधीशलाई हटाउन सिफारिश](https://www.himalkhabar.com/uploads/posts/800X600/nyaya-parisad-1704276626.jpg)
न्याय परिषद्ले उच्च र जिल्ला अदालतका दुई जना न्यायाधीशलाई बर्खास्त गर्न सिफारिश गरेको छ।
आइतबार बसेको परिषद्को बैठकले उच्च अदालतका न्यायाधीश नवराज थपलिया र जिल्ला अदालतका न्यायाधीश अम्बिकाप्रसाद निरौलालाई बर्खास्त गर्न प्रधानन्यायाधीश समक्ष सिफारिश गरेको हो।
प्रधानन्यायाधीश तथा परिषद्का अध्यक्ष विश्वम्भरप्रसाद श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले न्यायाधीशद्वय थपलिया र निरौलालाई पदमुक्त गर्न सिफारिश गरेको सर्वोच्च अदालतका सहप्रवक्ता गोविन्द घिमिरेले बताए।
त्यस्तै, परिषद्ले जिल्ला अदालत, काठमाडौंका न्यायाधीश राजकुमार कोइरालालाई चेतावनी सहित महोत्तरी सरुवा गरेको छ। छानबिनमा परेका जिल्ला न्यायाधीश पशुराम भट्टराईले यसअघि नै राजीनामा दिइसकेका छन्।
इमानदारीपूर्वक कर्तव्यको पालन नगरेको र बदनियतपूर्वक कामकारबाही गरेको भन्दै चार जना न्यायाधीश विरुद्ध परिषद्मा उजुरी परेको थियो। छानबिनपछि दुई जनालाई बर्खास्त गर्न र एक जनालाई चेतावनी दिइएको हो। अर्का न्यायाधीश भट्टराईले छानबिन शुरू भएपछि राजीनामा दिएका थिए।