सन्दीप लामिछानेलाई जेल बाहिरै बसेर मुद्दा पुनरावेदन गर्ने अनुमति
![सन्दीप लामिछानेलाई जेल बाहिरै बसेर मुद्दा पुनरावेदन गर्ने अनुमति](https://www.himalkhabar.com/uploads/posts/800X600/sandeep-lamichhane-main-1703863555.jpg)
जबर्जस्ती करणी मुद्दामा जिल्ला अदालत, काठमाडौंले आठ वर्ष कैद सजाय सुनाएका क्रिकेटर सन्दीप लामिछानेलाई उच्च अदालत, पाटनले थुना बाहिरै बसेर पुनरावेदन गर्ने अनुमति दिएको छ।
रजिस्ट्रार मानबहादुर कार्कीको इजलासले लामिछानेलाई मुलुकी फौजदारी कार्यविधि संहिताको दफा १३७ उपदफा २ बमोजिम यस्तो सुविधा दिएको हो। यस उपदफामा थुनछेकका क्रममा जेल चलान नभएका कसूरदारको कैद सजाय १० वर्षभन्दा कम भएमा थुना बाहिरै बसेर पुनरावेदन गर्ने सुविधा हुने व्यवस्था छ। यही सुविधाको माग सहित लामिछानेले उच्च अदालतमा पुनरावेदनको निवेदन दिएका थिए।
उच्च अदालतले यो सुविधा पाउन लामिछानेसँग कैद सजाय बापत दैनिक ३०० रुपैयाँका दरले आठ लाख ४५ हजार १०० रुपैयाँ धरौटी मागेको छ। धरौटी दाखिला भएपछि पुनरावेदन निवेदन दर्ता गर्न समेत आदेश दिएको छ।
लामिछानेले गौशाला-२६ लाई काठमाडौंको गौशालामा रहेको होटलमा लगेर जबर्जस्ती करणी गरेको आरोप लागेको थियो। जिल्ला अदालतले युवतीको आर्थिक दुरवस्थाको फाइदा उठाएर जबर्जस्ती करणी गरेको ठहर गर्दै लामिछानेलाई कैद सहित जरिवाना गर्ने फैसला गरेको थियो।