प्रदीप पौडेलको पूरक प्रस्ताव: उम्मेदवार छनोट ‘प्राइमरी’ चुनावबाट गरौं
![प्रदीप पौडेलको पूरक प्रस्ताव: उम्मेदवार छनोट ‘प्राइमरी’ चुनावबाट गरौं](https://www.himalkhabar.com/uploads/posts/800X600/pradip-paudel-1708495713.jpg)
नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले सबै तहको उम्मेदवार चयन ‘प्राइमरी’ चुनावबाट गर्नुपर्ने प्रस्ताव गरेका छन्।
कांग्रेसको ललितपुरमा जारी महासमिति बैठकमा प्रस्तुत २८ बुँदे पूरक प्रस्तावमा पौडेलले वडाको वडाकै, पालिकाको पालिकाकै, प्रदेशको प्रदेशकै र संघको संघकै सदस्यहरूको ‘प्राइमरी’ चुनावबाट उम्मेदवार छान्नुपर्ने प्रस्ताव राखेका हुन्। उम्मेदवार छनोट र टिकट वितरणका लागि बनाइएका सबै तहका संसदीय समिति र बोर्ड खारेज गर्नुपर्ने उनको धारणा छ।
प्रतिनिधि लोकतन्त्रबाट प्रत्यक्ष लोकतन्त्रतर्फ अग्रसर गराउन कांग्रेसलाई ‘डिजिटल पार्टी’ बनाउनुपर्ने उनको प्रस्ताव छ। पौडेलले हरेक नागरिक स्वेच्छाले पार्टीमा जोडिन सक्ने र पार्टीका हरेक सदस्यले प्रत्यक्ष प्रतिक्रिया दिन र लिन, मतदान गर्न र नेतृत्वलाई निर्देशन दिन सक्ने व्यवस्था गर्नुपर्नेमा जोड दिएका छन्।
प्रस्तावमा कुनै पनि भ्रातृसंस्थामा कसैलाई पनि मनोनीत गर्नु स्वतः अवैध हुने गरी व्यवस्था गर्नुपर्ने उल्लेख गरेका छन्।
पौडेलले पार्टीका सम्पूर्ण केन्द्रीय सदस्यले एक महीनाभित्र सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने र सम्पत्तिको स्रोत खुलाउन माग गरेका छन्। कांग्रेसबाट निर्वाचित वडाध्यक्षदेखि माथिका सबै जनप्रतिनिधि र लाभको पदमा बस्नेको सार्वजनिक लेखापरीक्षण अनिवार्य गर्नुपर्ने प्रावधान राख्नुपर्ने उनको प्रस्ताव छ।
महासमिति बैठकमा उपसभापति पूर्णबहादुर खड्काले नीति प्रस्ताव, महामन्त्री गगन थापाले सांगठनिक प्रस्ताव, अर्का महामन्त्री विश्वप्रकाश शर्माले सामसामयिक राजनीतिक प्रस्ताव, प्रवक्ता प्रकाशशरण महतले नेपालको वर्तमान आर्थिक अवस्था, सम्भावना र भावी दिशा सम्बन्धी प्रतिवेदन तथा लेखा समिति संयोजक श्यामकुमार घिमिरेले लेखापरीक्षण प्रतिवेदन प्रस्तुत गरिसकेका छन्।
बैठकको तेस्रो दिन दुई हजार २०० भन्दा बढी जनप्रतिनिधिलाई चार समूहमा विभाजन गरेर ती प्रतिवेदनमाथि छलफल शुरू भएको छ। महासमिति प्रतिनिधिले प्रतिवेदनमाथि पाँच मिनेट बोल्न पाउनेछन्।