प्रह्लाद योञ्जन संरक्षण पुरस्कार डा. अर्जुन थापालाई
![प्रह्लाद योञ्जन संरक्षण पुरस्कार डा. अर्जुन थापालाई](https://www.himalkhabar.com/uploads/posts/800X600/Thapa-1708430996.jpg)
यस वर्षको प्रह्लाद योञ्जन संरक्षण पुरस्कार डा. अर्जुन थापालाई प्रदान गरिएको छ।
थापाले गरेको आनुवंशिक अनुसन्धानले हिमाली क्षेत्रमा रेड पान्डा (हाब्रे)को वितरणबारे महत्त्वपूर्ण जानकारी उजागर गरेको रिसोर्सेज हिमालय फाउन्डेशनले जनाएको छ। एक लाख राशिको पुरस्कार प्रत्येक दुई वर्षमा प्रदान गरिंदै आएको छ।
पुरस्कार वितरण कार्यक्रममा बोल्दै रिसोर्सेज हिमालय फाउन्डेशनका डा.दि नेश भुजूले संरक्षण क्षेत्रमा प्रह्लाद योञ्जनको योगदान स्मरण गरेका थिए। डा. योञ्जन र डा. थापा दुवैलाई पढाएका प्राध्यापक जीवन श्रेष्ठले पुरस्कार छनोट प्रक्रियाबारे जानकारी दिंदै डा. थापाको योग्यता र संरक्षणप्रतिको समर्पणमाथि प्रकाश पारेका थिए।
साना स्तनधारी संरक्षण तथा अनुसन्धान फाउन्डेशनका संस्थापक सदस्य समेत रहेका डा. थापाले चाइनिज एकेडेमी अफ साइन्सेजबाट पीएचडी गरेका छन्। थापाले पुरस्कार पाउँदा आफू कृतज्ञ भएको जनाउँदै पुरस्कारले हौसला मिलेको र संरक्षण कर्ममा प्रतिबद्ध भएर लागिपर्ने प्रतिबद्धता व्यक्त गरे।
प्रह्लाद योञ्जनले विश्वमै पहिलो पटक रेडपान्डाको वासस्थानमै गएर अनुसन्धान गरेका थिए भने उच्च हिमाली क्षेत्रमा पनि बाघ पाइने प्रमाणित गरेका थिए। योञ्जनले म्याकआर्थर पुरस्कार बापत पाएको साढे तीन करोड रुपैयाँबाट रिसोर्सेज हिमालय स्थापना गरी संरक्षणमा नयाँ पुस्तालाई संलग्न गराएका थिए।
२००८ जेठ ७ गते जन्मिएका प्रह्लाद योञ्जन पूर्व प्रहरी महानिरीक्षक पहलमानसिंह लामाका ६ भाइ छोरामध्ये माइला हुन्। २०६८ कात्तिक १४ गते सडक दुर्घटनामा उनको मृत्यु भएको थियो।
प्राथमिक शिक्षा विराटनगरमा पाएका योञ्जनले माध्यमिक तहको पढाइ पद्मोदय स्कूलबाट गरी त्यहींबाट २०२५ सालमा एसएलसी र अस्कल क्याम्पसबाट बीएस्सी गरेका थिए। उनले त्रिवि केन्द्रीय प्राणीशास्त्र विभागबाट २०३१ मा स्नातकोत्तर उत्तीर्ण भई स्वर्ण पदक पाएका थिए।