राजा फर्काउँछु भन्नेहरूलाई कांग्रेसको जवाफ : यो प्रयास होइन, अर्थहीन कुचेष्टा हो
![राजा फर्काउँछु भन्नेहरूलाई कांग्रेसको जवाफ : यो प्रयास होइन, अर्थहीन कुचेष्टा हो](https://www.himalkhabar.com/uploads/posts/800X600/Khum-Bdr-Khadka-1708413112.jpg)
नेपाली कांग्रेसले विगत भइसकेको व्यवस्था फर्काउँछु भन्नु गैरजिम्मेवार मात्रै नभई असान्दर्भिक सोच भएको ठहर गरेको छ।
ललितपुरमा जारी महासमिति बैठकको बन्दसत्रमा मंगलबार कांग्रेस उपसभापति पूर्णबहादुर खड्काद्वारा प्रस्तुत नीति प्रस्तावमा राजा ल्याउने नाममा गरिएको सडक प्रदर्शनलाई अर्थहीन कुचेष्टाको संज्ञा दिइएको छ। निराशा बेच्दै काल्पनिक सपनाको हावाहुरीमा परिवर्तन उल्टाएर एकाधिकार लाद्न खोजिएको खड्काको आरोप छ।
“राजनीतिक पुनरुत्थानको यो कुचेष्टा गैरजिम्मेवार र असान्दर्भिक सोच हो। इतिहासको अपव्याख्याले केवल भ्रम दिन्छ, सत्य दिंदैन,” नीति प्रस्तावमा भनिएको छ, “पुनरुत्थानको प्रयास जस्तो देखिने सडक कर्म खासमा यो प्रयास होइन, अर्थहीन कुचेष्टा मात्रै हो।”
पुनरुत्थानको कुचेष्टा उपशीर्षकमा खड्काले राजनीतिक दल र सरकारको काम गर्ने तौरतरीका तथा शैलीप्रति गुनासो, असन्तुष्टि तथा चित्त दुखाइ रहेको र यस्ता समस्यालाई व्यवस्थासँग जोडेर परिवर्तन विरुद्ध आवाज उठाउनेहरू पनि देखिएको उल्लेख गरेका छन्।
नागरिकमा निराशा बढाएर निराशाकै व्यापार गर्न खोजिएको उनको भनाइ छ। उनले भनेका छन्, “मूलत: अधिनायकवाद, लोकरिझ्याइँ र पुनरुत्थानको प्रलाप बढेर गएको छ।”
महामन्त्रीद्वय गगनकुमार थापाले सांगठनिक र विश्वप्रकाश शर्माले समसामयिक राजनीतिक प्रतिवेदन, प्रवक्ता प्रकाशशरण महतले नेपालको वर्तमान आर्थिक अवस्था, सम्भावना र भावी दिशा सम्बन्धी प्रतिवेदन र लेखा समिति संयोजक श्यामकुमार घिमिरेले लेखापरीक्षण प्रतिवेदन पेश गर्ने कार्यक्रम छ।