तीन दिनसम्मै मौसम बदली, बिहीबार काठमाडौंमा वर्षाको सम्भावना
![तीन दिनसम्मै मौसम बदली, बिहीबार काठमाडौंमा वर्षाको सम्भावना](https://www.himalkhabar.com/uploads/posts/800X600/weather_1665106272.jpg)
गएरातिदेखि पश्चिमबाट शुरू भएको मौसम बदली देशभर फैलने क्रममा रहेको छ।
यो क्रम बिहीबारसम्म जारी रहने र शुक्रबारबाट पश्चिम क्षेत्र हुँदै क्रमशः सुधार हुँदै जाने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् गंगा नगरकोटीले जानकारी दिइन्। आज गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा मौसम बदली भइसकेको र केही स्थानमा छिटपुटदेखि हल्का तथा मध्यम वर्षा शुरू भएको पनि उनले बताइन्।
काठमाडौं उपत्यकामा पनि बादल लाग्न थालिसकेको तथा बिहीबार काठमाडौंमा वर्षाको सम्भावना रहेको र त्यसअघि भने फाट्टफुट्ट वर्षा हुन सक्ने पनि उनले बताइन्।
विभागका अनुसार हाल नेपालमा पश्चिमी वायुको प्रभाव रहेको छ। गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम आंशिक बदलीदेखि मुख्यतया सफा छ। तराईका थोरै स्थानमा हल्का हुस्सु लागिरहेको छ।
आगामी २४ घन्टामा देशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना र देशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको विभागले जनाएको छ।
“यस प्रणालीका कारण हुने वर्षा, हिमपात तथा चिसोका कारण दैनिक जनजीवन लगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा असर पर्न सक्ने देखिएकाले आवश्यक सतर्कता अपनाउनुहुन अनुरोध छ,” विभागले आज जारी गरेको बुलेटिनमा उल्लेख छ। -रासस