अमेरिका हिंडेका ११ भारतीय काठमाडौंमा बन्धक
![अमेरिका हिंडेका ११ भारतीय काठमाडौंमा बन्धक](https://www.himalkhabar.com/uploads/posts/800X600/police-1707995013.jpg)
अमेरिका लैजाने भनेर नेपालमा बन्धक बनाएर राखेका ११ जना भारतीयलाई प्रहरीले उद्धार गरेका छ भने बन्धक बनाउने गिरोहका आठ जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी परिसर, काठमाडौंले ‘अप्रेशन डंकी’ नाम दिएर बन्धक सहितको गिरोहलाई पक्राउ गरेको हो। गिरोहले भारतीय नागरिकलाई अमेरिका पठाउने भनेर नयाँ दिल्ली हुँदै दुबई, कतार लगायत देशबाट नेपाल ल्याई रातोपुलस्थित एउटा घरमा बन्धक बनाएर राखेको काठमाडौं प्रहरी प्रमुख वरिष्ठ उपरीक्षक (एसएसपी) भूपेन्द्रबहादुर खत्रीले बताए।
गिरोहले नेपाल ओरालेको केही दिनमै उनीहरूको राहदानी, मोबाइल, ल्यापटप लगायत विद्युतीय सामान आफ्नो कब्जामा लिएको थियो। यसका साथै अनिवार्य रूपमा बोक्न लगाइएको ३०० अमेरिकी डलर पनि जफत गरिदिएका थिए। “त्यसपछि गिरोहले रकम असुल्न अनेक हर्कत गर्न थालेको हाम्रो अनुसन्धानबाट खुलेको छ,” एसएसपी खत्रीले भने।
उनका अनुसार गिरोहले घरभित्रै अमेरिका पुग्ने रूटको नक्कली ‘डेमो’ बनाएको थियो, जुन बन्धक बनाइएका आफन्तलाई सामाजिक सञ्जाल मार्फत पठाउने गर्थ्यो। त्यति मात्र होइन, मेक्सिको पुगेको र त्यहाँबाट अमेरिका छिर्न ४० लाख रुपैयाँ लाग्ने भन्दै बन्धकका आफन्तसँग रकम माग्ने गरेका थिए।
यसरी मागेको रकम भारतस्थित एजेन्टको खातामा जम्मा गर्न लगाएको पाइएको छ। “बन्धक बनाइएको घरभित्रै मेक्सिकोको नक्कली वातावरण सिर्जना गरेर परिवारका सदस्यलाई आश्वस्त पार्ने गरेका थिए,” खत्री भन्छन्, “बन्धक बनाइएकासँग समेत त्यसरी नै कुराकानी गराउँदा रहेछन्।”
यातना दिएर बन्धकलाई भने अह्राएको कुरा भन्न लगाउने गरेको समेत एसएसपी खत्रीले बताए। मेक्सिकन भाषा, समय, संस्कृति, संगीत झल्कने वातावरण नै सिर्जना गरेको प्रहरीको भनाइ छ।
मेक्सिको र ब्राजिलको समय मिलाइएको दुई थान घडी, स्पीकर लगायत सामान समेत प्रहरीले बरामद गरेको छ। स्पीकर मार्फत मेक्सिकोमै पुगेको झल्को दिने आवाज सिर्जना गर्ने गरेको प्रहरीले जनाएको छ।
त्यस्तै, विभिन्न एअरलाइन्सको नक्कली बोर्डिङ पासको बन्डल पनि प्रहरीले फेला पारेको छ। यसका साथै बन्धकबाट जफत गरिएको अमेरिकी डलर सहित भारतीय र नेपाली मुद्रा पनि प्रहरीले फेला पारेको छ।
पक्राउ परेकामध्ये गिरोहको मूल एजेन्ट ५८ वर्षीय इन्दुसिंह यादव रहेको प्रहरीको भनाइ छ। भारतको मध्यप्रदेशका यादव गार्मेन्ट व्यापारका सिलसिलामा २०४२ सालमा नेपाल आएको प्रहरीले बताएको छ।
२०४६ सालमा नेपाल आएर घडी पसलमा काम गर्ने निपुण गुप्ताको नाममा बन्धक बनाउने घर खोजिएको अनुसन्धानबाट खुलेको खत्रीले बताए। तार्सेम सिंह भनेर समेत चिनिने उनको साथबाट बरामद भएको आधार कार्डमा भने नाम अरुण सिंह उल्लेख छ।
नयाँ दिल्लीका चरणजित सिंहले भने बन्धक बनाएकालाई खाना पकाएर खुवाउने गरेका थिए। राजस्थानका रामचन्द्र शर्मा मुख्य कूक रहेको प्रहरीले जनाएको छ। लुधियाना पन्जाबका अशोक कुमारले बन्धकलाई निगरानी तथा यातना दिने गरेको प्रहरीले जनाएको छ।
प्रविधिविज्ञ समेत यो गिरोहमा सामेल भएको प्रहरीको भनाइ छ। प्रविधिविज्ञ अब्दुल रहिमले जुन देशमा पुगेको भनिएको छ, त्यही देशको नक्कली वातावरण सिर्जना गर्ने संगीत, भाषा सहितको मिथ्या चीज बनाउने गर्थे। पन्जाबकै मनीषकुमार मल्होत्रा, रवि मेवादे यातना दिने भूमिकामा रहेको खत्रीले बताए।
गिरोहले पन्जाब, अमृतसर र हरियानाका भारतीयलाई अमेरिका पुर्याउने भन्दै नेपाल ल्याएर बन्धक बनाएको हो। ११ जनामध्ये सात जना पन्जाबका छन्, जसमा भूपेन्द्र सिंह, मनवीर सिंह, जगदीप सिंह, गुरुप्रीत सिंह, कलुदीप सिंह, राकेश कुमार र गुरुप्रीत सिंह छन्। अमृतसरका गुरुइन्दर सिंह, हरियानाका सुवास कुमार, प्रतीक र आशिष कुमार छन्।
यस गिरोहका थप सदस्य रहेको भए पनि अनुसन्धान भइरहेकाले थप जानकारी सार्वजनिक गरिएको छैन।