रुविनाको ऐतिहासिक शतक
![रुविनाको ऐतिहासिक शतक](https://www.himalkhabar.com/uploads/posts/800X600/Rubina_Century-1707809926.jpg)
एसीसी महिला प्रिमियर लिग क्रिकेट अन्तर्गत माल्दिभ्स विरुद्धको खेलमा नेपाली टोलीकी सदस्य रुविना क्षेत्रीले ऐतिहासिक शतक बनाएकी छिन्।
योसँगै उनी टी-२० अन्तर्राष्ट्रियमा शतक प्रहार गर्ने पहिलो नेपाली महिला खेलाडी बनेकी छिन्।
शुरूमा टस जितेर ब्याटिङ रोजेको नेपालले चार विकेटको क्षतिमा २२७ रन बनाएको थियो। नेपालका लागि रुविना क्षेत्रीले ५९ बलमा ११८ रन बनाएकी थिइन्। उनको पारीमा १० चौका र पाँच छक्का समावेश थियो।
यस्तै, पूजा महतोले ३६ बलमा ५९ रनको पारी खेलिन्। यस बाहेक कविता कुँवरले १३, सीता राना मगरले १५ र डली भट्टले ६ रन बनाए। कप्तान इन्दु बर्मा शून्य रनमा आउट भइन्।
हाल खेलमा दोस्रो इनिङ चलिरहेको छ। माल्दिभ्सको महिला टोलीले पाँचौं ओभरको खेल चल्दा दुई विकेटको क्षतिमा तीन रन मात्र बनाउन सकेको छ। माल्दिभ्सको दुवै विकेट पूजा महतोले लिएकी हुन्।
मलेशियामा भइरहेको प्रतियोगितामा नेपाल समूह ‘डी’ मा छ। यसअघि नै नेपालले लगातार दोस्रो जित निकाल्दै चार अंकका साथ क्वार्टरफाइनलमा स्थान बनाइसकेको छ। नेपालले पहिलो खेलमा हङकङ र दोस्रो खेलमा भूटानलाई समान आठ विकेटले पराजित गरेको थियो। माल्दिभ्स भने प्रतियोगितामा लगातार दोस्रो हार बेहोर्दै प्रतियोगिताबाट बाहिरिइसकेको छ। माल्दिभ्स पहिलो खेलमा भूटान र दोस्रोमा हङकङसँग पराजित भएको थियो।