‘जनयुद्ध दिवस’ को बिदाबारे गाउँपालिका अध्यक्ष र उपाध्यक्षबीच विवाद
![‘जनयुद्ध दिवस’ को बिदाबारे गाउँपालिका अध्यक्ष र उपाध्यक्षबीच विवाद](https://www.himalkhabar.com/uploads/posts/800X600/Dhading_gajuri-1707804926.jpg)
धादिङको गजुरी गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षबीच ‘जनयुद्ध दिवस’ मा सार्वजनिक बिदा दिने र नदिने भन्नेबारे विवाद भएको छ।
सोमबार (माघ २९ गते) गाउँपालिका अध्यक्ष गणेशलाल श्रेष्ठले २०५२ फागुन १ गतेदेखि सञ्चालित ‘जनयुद्ध’ को स्मरण र सम्मान गर्दै फागुन १ गते गाउँपालिका अन्तर्गतका सम्पूर्ण सरकारी कार्यालय, विद्यालय तथा संघसंस्थामा सार्वजनिक बिदा दिने निर्णय भएको भन्दै सूचना जारी गरेका थिए। लगत्तै, गाउँपालिका उपाध्यक्ष शर्मिला बिसुरालले सार्वजनिक बिदाबारे गाउँ कार्यपालिका बैठकमा कुनै छलफल र निर्णय नभएको जानकारी दिंदै गृह मन्त्रालयद्वारा जारी सूचना अनुसार आज सार्वजनिक बिदा नहुने बताएकी थिइन्।
‘सर्वोच्च अदालतबाट पनि सार्वजनिक बिदा दिन नमिल्ने फैसला भइसकेकाले नेपालको संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनार्थ भएका सबै खालका राजनीतिक आन्दोलन र स्थापित राजनीतिक मूल्यमान्यतालाई पूर्ण रूपमा सम्मान गर्दै जनताद्वारा निर्वाचित संविधानसभाले बनाएको वर्तमान संविधानमा कानूनभन्दा माथि कोही नरहेको र कानूनको पूर्ण पालना गर्नु आमनागरिकको कर्तव्य रहेकाले सोही अनुरूप भोलि फागुन १ गते गजुरी गाउँपालिका तथा मातहतका सबै सरकारी कार्यालय, विद्यालय, स्वास्थ्य चौकी, वित्तीय संस्थाहरू यथावत् रूपमा खोल्न सञ्चालन गर्न सम्बन्धित सबैलाई सूचित गरिन्छ,’ उपाध्यक्ष बिसुरालले जारी गरेको सूचनामा भनिएको थियो।
गजुरी गाउँपालिकाका अध्यक्ष श्रेष्ठ नेकपा (माओवादी केन्द्र)बाट निर्वाचित भएका हुन् भने उपाध्यक्ष बिसुराल नेपाली कांग्रेसबाट निर्वाचित जनप्रतिनिधि हुन्। २०७९ सालको स्थानीय तह निर्वाचनमा दुवै जना एकै गठबन्धनका उम्मेदवार थिए।