क्यासिनो माजोङलाई मुम्बईमा अवार्ड
होटल सोल्टीस्थित क्यासिनो माजोङले भारतको आर्थिक राजधानी मुम्बईमा प्रतिष्ठित अवार्ड प्राप्त गरेको छ।
मुम्बईमा आयोजित हस्पिटालिटी अवार्ड कार्यक्रममा माजोङ क्यासिनोले ‘आउटस्ट्यान्डिङ कन्ट्रिब्युटर टु टुरिजम डेभलपमेन्ट इन नेपाल’ अवार्ड प्राप्त गरेको हो।
मुम्बईको पोवई सेन्ट्रल एभिन्यू, हिरामन्डी गार्डेनस्थित ‘मेलुहा द फर्न : इकोटेल होटल’ मा आयोजित समारोहमा भारतको केन्द्र सरकारका सामाजिक न्याय तथा सशक्तीकरण राज्यमन्त्री रामदास अठावाले, मुम्बईका लोक सभा सांसद अरविन्द गणपत सावन्त र बेलायतको लन्डन बोरो अफ साउथवाकका मेयर सुनील चोपडाले क्यासिनो माजोङका अध्यक्ष तथा प्रबन्ध निर्देशक विनोद श्रेष्ठलाई अवार्ड हस्तान्तरण गरे।
हस्पिटालिटी इन्डियाले हरेक वर्ष अवार्ड वितरण गर्दै आएको छ। यस पटकको अवार्ड सातौं संस्करण हो।
समारोहमा हस्पिटालिटी इन्डिया कफी टेबल बूक म्यागजिनको आठौं संस्करणको कभर पृष्ठ पनि सार्वजनिक गरियो। म्यागजिनमा क्यासिनो माजोङका अध्यक्ष तथा प्रबन्ध निर्देशक श्रेष्ठको अन्तर्वार्ता पनि समावेश छ। श्रेष्ठ विगत २५ वर्षदेखि पर्यटन व्यवसायमा आबद्ध छन्। क्यासिनो, होटल, रिसोर्ट, ट्राभल लगायत व्यवसायमा उनको लगानी छ।