व्यापारमा ११ लाख ३० हजार व्यक्ति संलग्न, महिला ३६ प्रतिशत
![व्यापारमा ११ लाख ३० हजार व्यक्ति संलग्न, महिला ३६ प्रतिशत](https://www.himalkhabar.com/uploads/posts/800X600/asan_(6)_1664350973.jpg)
देशको थोक तथा खुद्रा व्यापार क्षेत्रमा ११ लाख ३० हजार जना संलग्न रहेको तथ्य नयाँ अध्ययनले देखाएको छ।
राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको नेपाल वितरण व्यापार सर्वेक्षणको अध्ययन प्रतिवेदनले देशभरिमा करीब पाँच लाख व्यापारिक कारोबार गर्ने संस्थामा कामदार संलग्न रहेको देखाएको छ।
प्रतिवेदनका अनुसार देशमा चार लाख ९८ हजार वटा व्यापारिक प्रतिष्ठान सञ्चालनमा छन्। यीमध्ये ६८ प्रतिशत कुनै न कुनै सरकारी निकायमा दर्ता भएका छन्। तर ३२ प्रतिशत व्यवसाय कतै पनि दर्ता छैनन्। मधेश र कोशीमा दर्ता नभई सञ्चालन हुने व्यवसायको अनुपात धेरै छ।
प्रतिवेदनले यी व्यवसायमा संलग्नमध्ये ६४ प्रतिशत पुरुष र ३६ प्रतिशत महिला रहेको देखाएको छ।
यी व्यवसायमा १९.४२ प्रतिशतले ज्याला र तलब लिने गरी संलग्न रहेको र बाँकी आफ्नै वा पारिवारिक व्यवसायका रूपमा संलग्न रहेको अध्ययनले देखाएको छ। प्रतिवेदन अनुसार यी व्यवसायमा ७४ प्रतिशत पुरुषको र २६ प्रतिशत मात्रै महिलाको स्वामित्व छ।
प्रतिवेदनले व्यापारमध्ये सर्वाधिक धेरै नाफा (ट्रेड मार्जिन) मोटर तथा मोटरसाइकल व्यापार तथा मर्मतसम्भारमा देखिएको छ। यो क्षेत्रमा सरदरमा २४.०२ प्रतिशत नाफा छ। त्यसैगरी, थोक व्यापारमा १३ प्रतिशत र खुद्रा व्यापारमा १८.२८ प्रतिशत नाफा छ। मोटरको व्यापारमा सर्वाधिक धेरै नाफा बागमती प्रदेशमा २८.५७ प्रतिशत छ।
प्रादेशिक रूपमा हेर्दा समग्र व्यापारमध्ये गण्डकी क्षेत्रका व्यापारीले २० प्रतिशत नाफा गर्ने गरेको भेटिएको छ। त्यसैगरी, मधेश प्रदेशमा व्यापारीले १९.३४ प्रतिशत र बागमतीमा १८.३७ प्रतिशत नाफा गर्ने गरेको भेटिएको छ।