गगन थापाको प्रश्न : सहकारीमा ठगीधन्दा चलाउनेलाई कारबाही गर्नु पर्दैन?
![गगन थापाको प्रश्न : सहकारीमा ठगीधन्दा चलाउनेलाई कारबाही गर्नु पर्दैन?](https://www.himalkhabar.com/uploads/posts/800X600/gagan-thapa-1707295667.jpg)
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आमनागरिकले निक्षेप संकलन गरेर जम्मा गरेको सहकारीमा ठगीधन्दा चलाउनेलाई कारबाही गर्नुपर्नेमा जोड दिएका छन्।
प्रतिनिधि सभाको बुधबारको बैठकमा बोल्दै थापाले जसरी सर्वसाधारण नागरिकले गलत काम गर्दा दण्ड पाउँछन् भने शक्तिशाली व्यक्तिलाई पनि त्यसरी नै कानून लाग्नुपर्ने बताए। “आमनागरिकहरूले निक्षेप संकलन गरेर जम्मा गरेको सहकारीमा ठगीको धन्दा चलाउँछ, ठगीको धन्दाको मतियार हुन्छ भने कानूनी कारबाहीको दायरामा आउनु पर्दैन?” थापाले प्रश्न गरे।
त्यस्तै, सरकारी जग्गा हडप्ने जोसुकै भए पनि कारबाहीको दायरमा ल्याउनुपर्ने उनको भनाइ थियो। “जग्गा मिच्ने होस्, जग्गा हडप्ने होस्। चाहे नागरिकताको कीर्ते गर्ने होस्। चाहे सहकारीमा ठग्ने होस्। यताको होस्, उताको होस्, जुनसुकै दलको होस्। दलभन्दा बाहिरको होस्। जतिसुकै शक्तिशाली होस्। कसैले पनि उन्मुक्ति पाउनु हुँदैन,” थापाले भने।