एनसेल र मौसम विज्ञान विभागबीच प्राकृतिक प्रकोपबारे पूर्व सूचना दिने समझदारी
![एनसेल र मौसम विज्ञान विभागबीच प्राकृतिक प्रकोपबारे पूर्व सूचना दिने समझदारी](https://www.himalkhabar.com/uploads/posts/800X600/Ncell--DHM-MoU-Exchange-Ceremony-(2)-1704953900.JPG)
जल तथा मौसमका कारण हुने प्राकृतिक प्रकोपबारे एनसेलले पूर्व सूचना प्रवाह गर्ने भएको छ।
यस सम्बन्धी समझदारीपत्रमा एनसेल र जल तथा मौसम विज्ञान विभागबीच हस्ताक्षर भएको छ। एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभ र जल तथा मौसम विज्ञान विभागका महानिर्देशक डा. जगदीश्वर कर्माचार्यले समझदारीपत्रमा हस्ताक्षर गरेका हुन्।
यो समझदारीसँगै एनसेल र मौसम विज्ञान विभागले पूर्व सूचना प्रणाली अन्तर्गत १३ वटा प्रकोपबारे आम नागरिकलाई प्रकोप पूर्व सूचना प्रवाह गर्नेछन्। जसमा आकस्मिक बाढी, वर्षा, चट्याङ, हावाहुरी, आँधी, हिमपहिरो, हिमपात, शीतलहर, डढेलो, वायु प्रदूषण लगायत छन्।
यस सहकार्यले उत्साहित भएको विभागका महानिर्देशक डा. कर्माचार्यले बताए। ‘‘पूर्व सूचना प्रणालीमा अग्रणी भूमिका खेल्दै सन् २०१६ देखि बाढीको पूर्व सूचना पहललाई अगाडि बढाएकोमा एनसेललाई धन्यवाद दिन चाहन्छु,” उनले भने, “कुनै प्राकृतिक विपद् घट्नु अगावै प्राप्त हुने पूर्व सूचना त्यस जोखिमबाट बच्न सफल मानिसका लागि जीवनदान सरह हुन्छ।”
एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोरले भने जल तथा मौसम विज्ञान विभागसँग १३ वटा विपद्लाई पूर्व सूचना प्रणालीमा समेट्ने गरी सहकार्य गर्न पाएकोमा खुशी व्यक्त गरे। “हामीले सेवा प्रदान गर्ने समुदाय र त्यहाँका नागरिकको सुरक्षा सुनिश्चित गर्ने हाम्रो प्रतिबद्धता अनुरूप गरिएको यो कार्य एक कोशेढुंगा हो,” उनले भने।
पूर्व सूचना प्रणालीले जोखिम क्षेत्रभित्र रहेका मानिसलाई सम्भावित जोखिमबारे सूचित गर्दै आआफ्ना सरसामान लिएर सुरक्षित स्थानमा जान अग्रिम जानकारी दिन्छ। त्यसैगरी विपद् पूर्व तयारी तथा प्रतिकार्यमा संलग्न संघसंस्थालाई समयमा नै आवश्यक कार्य गर्न सहयोग पुर्याउँछ।
सन् २०१६ देखि एनसेल र विभागले निरन्तर सहकार्य गरी बाढीको जोखिम रहेको ठाउँमा बसोबास गर्ने मानिसलाई पूर्व सूचना प्रवाह गर्दै आएको छ। २०२३ मा एनसेलले ९० लाखभन्दा बढी पूर्व सूचना प्रवाह गरेको थियो।