पर्यटनले लय समात्यो, १० लाखभन्दा धेरै पर्यटक भित्रिए
कोभिड-१९ महामारी शुरू भएपछि थलिएको पर्यटन क्षेत्र पुरानै लयमा फर्किएको छ।
सन् २०२३ मा नेपाल भ्रमण गर्ने पर्यटकको संख्या १० लाख नाघेको छ, जुन कोभिड-१९ महामारीपूर्वका वर्षको स्थितिको छेउछाउ हो। नेपालमा सन् २०१८ र २०१९ पछि १० लाखभन्दा धेरै पर्यटक भित्रिएको यो तेस्रो वर्ष हो।
पर्यटन बोर्डको तथ्यांक अनुसार सन् २०२३ मा १० लाख १४ हजार ८८६ पर्यटक नेपाल भित्रिएका छन्। यो गत वर्षको तुलनामा ६५ प्रतिशत धेरै हो।
नेपालले बितेका कैयौं वर्षदेखि बर्सेनि १० लाखभन्दा धेरै पर्यटक भित्र्याउने लक्ष्य राख्दै आएको थियो। कोभिड-१९ महामारी शुरू हुनुअघिका दुई वर्षमा लक्ष्यभन्दा धेरै पर्यटक भित्रिएका थिए। सन् २०१९ मा झन्डै १२ लाख पर्यटक नेपाल भित्रिएका थिए। यो अहिलेसम्मकै सर्वाधिक पर्यटक आगमन हो। तर कोभिड-१९ महामारी शुरू भएपछिका तीन वर्षको पर्यटक आगमन निकै निराशलाग्दो अवस्थामा पुगेको थियो।
हरेक महीना ८५ हजार हाराहारीमा पर्यटक भित्रिन थालेपछि पर्यटन क्षेत्रले तंग्रिने सम्भावना देखाएको छ। पर्यटक आगमन बढेसँगै पर्वतारोहण, होटल तथा रेस्टुरेन्ट, पदयात्रा लगायत पर्यटन क्षेत्र चलायमान हुन्छ। नेपालमा रोजगारी सिर्जनाका लागि यस क्षेत्रको महत्त्वपूर्ण योगदान छ।
यससँगै वैदेशिक मुद्रा आर्जनका लागि पर्यटन महत्त्वपूर्ण स्रोत हो। नेपाल राष्ट्र ब्यांकका अनुसार गत आर्थिक वर्षमा नेपालले पर्यटन क्षेत्रबाट करीब ६२ अर्ब रुपैयाँ आम्दानी गरेको थियो।
कोभिड-१९ को महामारी सकिएर वैश्विक आवागमनको क्रम बढेपछि त्यसको प्रभाव नेपालमा पनि देखिएको हो। महामारीका समयमा चीन सहितका कैयौं देशले आफ्ना नागरिकलाई भ्रमणमा रोक लगाएका थिए।
नेपाल भ्रमणमा आउनेमध्ये सर्वाधिक पर्यटक भारतका हुने गरेका छन्। त्यसपछि चीन, अमेरिका तथा यूरोपका पर्यटकको संख्या धेरै हुन्छ। भारतीय पर्यटक अधिकांश धार्मिक यात्राका लागि र अन्य देशका पर्यटक पर्वतारोहण, बिदा मनाउन तथा पदयात्राका लागि आउने गरेको पर्यटन व्यवसायी बताउँछन्।
सन् २०२२ मा अक्टोबरमा सर्वाधिक एक लाख १७ हजार ३०६ पर्यटक नेपाल आएका थिए। त्यसैगरी, नोभेम्बरमा एक लाख आठ हजार ६३० पर्यटक नेपाल भित्रिएका थिए। नेपालमा अक्टोबर र नोभेम्बर तथा मार्च र अप्रिल महीनामा अन्य समयका तुलनामा बढी पर्यटक आउँछन्।