कोरोनाको नयाँ भेरियन्ट कति घातक?
भारतमा कोभिड-१९ को पहिलेको भन्दा बढी संक्रामक नयाँ भेरियन्ट देखिएपछि नेपालमा पनि सतर्कता अपनाउनुपर्ने विज्ञहरू बताउँछन्।
भारतको केरलमा कोभिड-१९ को नयाँ भेरियन्ट ‘जेएन-१’ फेला परेको हो। भारतमा यो भेरियन्ट पहिलो पटक मंसीर २२ मा कारकुलमामा फेला परेको थियो।
हिन्दुस्थान टाइम्सका अनुसार भारतमा पछिल्लो २४ घण्टामा २९२ जनामा यसको संक्रमण देखिएको छ। नयाँ भेरियन्टको संक्रमणबाट तीन जनाको मृत्यु भइसकेको छ।
अमेरिकाको सेन्टर फर डिजीज कन्ट्रोल एन्ड प्रिभेन्सनका अनुसार यो भेरियन्ट पहिलो पटक सेप्टेम्बरमा अमेरिकामा पत्ता लागेको थियो। यो कोरोनाको ओमिक्रोन भेरियन्टको ‘सब भेरियन्ट’ हो। जेएन-१ अमेरिकामा सबैभन्दा छिटो फैलिने भेरियन्ट भएको सीडीसीले जनाएको छ।
विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले यसलाई ‘भेरियन्ट अफ इन्ट्रेस्ट’ भन्दै विश्वव्यापी जनस्वास्थ्य समस्याका रूपमा फैलने सम्भावना कम रहेको उल्लेख गरेको छ। यद्यपि यसबारे बोल्नका लागि थप तथ्यांकहरू उपलब्ध भइनसकेको डब्लूएचओको भनाइ छ।
जेएन-१ भेरियन्ट चीन, अमेरिका, बेलायत लगायत देशमा पनि देखिएको छ। डब्लूएचओले यसले ठूलो क्षति गराउने सम्भावना कम रहेको र कोभिड विरुद्धको भ्याक्सिनले काम गर्न सक्ने समेत जनाएको छ। तर जाडो महीना भएकाले इन्फ्लुएन्जासँगै यो नयाँ भेरियन्ट फैलन सक्ने डब्लूएचओको चेतावनी छ।
यसअघि संसारभर ओमिक्रोन भेरियन्ट फैलिएको थियो र त्यसको असर पनि ठू्लो थियो। भारतमा कुनै पनि संक्रमण देखिनासाथ त्यो नेपाल छिर्न समय लाग्दैन। यसअघि पनि भारतमा कोभिड संक्रमण देखिएको एक सातादेखि एक महीनाभित्र नेपालमा देखिएको थियो।
भारतका विभिन्न स्थानमा देखिएकाले यो भेरियन्ट नेपालमा पनि देखिने सम्भावना उत्तिकै छ। धुलिखेल अस्पतालका संक्रामक रोग विशेषज्ञ तथा सिक्वेन्सिङ ल्याबका प्रमुख डा. राजीव श्रेष्ठ परीक्षण गर्ने हो भने यो नयाँ भेरियन्ट नेपालमा पनि देखिने बताउँछन्। नयाँ भेरियन्ट पत्ता लाग्दैमा आत्तिनुपर्ने अवस्था नभएको डा. श्रेष्ठ बताउँछन्।
किनकि यो नयाँ भेरियन्ट छिटो फैलिए पनि मृत्युदर बढाउन भने सक्दैन। तर रुघाखोकी, फ्लु, इन्फ्लुएन्जा र निमोनिया भएका मानिसलाई यसको संक्रमण भयो भने सिकिस्त बनाउन सक्ने डा. श्रेष्ठ बताउँछन्।
त्यस्तै, यसले वृद्धवृद्धालाई जोखिम बढाउन सक्ने उनको भनाइ छ। “सामान्यतया ज्येष्ठ नागरिक र दीर्घरोगीलाई रुघाखोकी मात्रै लाग्यो भने पनि जोखिम हुन्छ। त्यसैले दीर्घरोगी अलिक सचेत हुनुपर्छ,” डा. श्रेष्ठ भन्छन्, “तर भ्याक्सिन कभरेज राम्रो भएकाले नयाँ भेरियन्टसँग हामी अत्तालिनु पर्दैन।”