साना लगानीकर्ताले पाउने १० कित्ता शेयर हिस्सा खोस्ने धितोपत्र बोर्डको प्रपञ्च
नेपाल धितोपत्र बोर्ड (सेबोन)ले प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ)मा १० कित्ताको नीति हटाउने प्रपञ्च शुरू गरेको छ।
बार्डले आईपीओ जारी गर्ने कम्पनीले सर्वसाधारणलाई आवेदन गर्न दिने १० कित्ता शेयरको नीति पुनरावलोकन गर्न समिति गठन गरेको छ। बोर्डका प्रवक्ता मुक्तिनाथ श्रेष्ठले आईपीओको १० कित्ताको नीति पुनरावलोकन गर्न सोमबार समिति गठन गरिएको जानकारी दिए। बोर्डका सञ्चालक समिति सदस्य प्रवीणकुमार झा नेतृत्वको समितिका सदस्यहरूमा भोलानाथ ढुंगाना, मुक्तिनाथ श्रेष्ठ र अम्बिकाप्रसाद गिरी छन्।
विद्यमान व्यवस्था अनुसार आईपीओ जारी गर्ने कम्पनीमा सर्वसाधारणले न्यूनतम १० कित्ता खरीदका लागि आवेदन दिन पाउँछन्। यो नीतिका कारण थोरै रकम लगानी गर्ने क्षमताका साना लगानीकर्ताले शेयर बजारमा लगानीको अवसर पाएका छन्।
तर यो व्यवस्था परिवर्तन गर्न धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालले यसअघिदेखि नै प्रयत्न गर्दै आएका थिए। कार्यकाल सकिन एक महीना पनि बाँकी नभएका अध्यक्षले पदावधि सकिनुअघि नै यो व्यवस्था उल्टाउने कसरत शुरू गरेका हुन्।
हमालले विभिन्न सार्वजनिक मञ्चमा १० कित्ता शेयरको नीतिले विकृति ल्याएको भन्दै यसलाई हटाइने बताउँदै आएका थिए। यो नीति हट्दा धेरै लगानी गर्न सक्ने क्षमताका व्यक्तिले मात्रै प्राथमिक शेयर निष्कासनमा आवेदन दिने अवसर पाउँछन्।
हमालको कार्यकाल आगामी २० पुसमा सकिंदै छ। कार्यकाल सकिनुअघि नै उनले महत्त्वपूर्ण र दीर्घकालीन महत्त्व राख्ने विषयमा निर्णय गर्न खोजेका छन्। खासगरी कमोडिटी एक्सचेन्जको अनुमतिपत्र दिन र स्टक एक्सचेन्जको अनुमति दिन उनी पहल गरिरहेका छन्।