शेयर कारोबारमा कीर्तिमान, झन्डै २२ अर्बको किनबेच
तीन वर्षपछि शेयर बजारमा कीर्तिमानी कारोबार भएकाे छ।
एकै दिन २२ अर्ब रुपैयाँको हाराहारीमा कारोबार भएर नयाँ ऐतिहासिक उचाइ देखिएको हो। शेयर बजार परिसूचक नेप्से पनि २.३८ प्रतिशतले बढेको छ।
पछिल्ला तीन सातादेखि नै लगातार बढ्दो क्रममा रहेको नेप्सेको उत्साह बुधबार पनि कायम रह्यो। कारोबार भएकामध्ये १९१ कम्पनीको शेयर मूल्यमा वृद्धि भएको छ, जसमध्ये २१ वटा कम्पनीको शेयर मूल्यमा १० प्रतिशत हाराहारीको वृद्धि भएको छ।
बुधबार शेयर बजार परिसूचक ६४.२६ अंकले बढेर दुई हजार ७६० बिन्दु पार गरेको छ। त्यस्तै, कारोबार रकम २१ अर्ब ९१ करोड १५ लाख रुपैयाँ पुगेको छ। तीन वर्षअघिको उच्च कारोबारका तुलनामा पनि यो धेरै हो। २०७८ साउन ३१ गते २१ अर्ब ६४ करोड रुपैयाँको कारोबार भएको थियो।
बजारमा बढ्दो कारोबारले लगानीकर्ताको उत्साहलाई देखाउँछ। झन्डै तीन वर्ष शिथिल रहेको शेयर बजारमा पछिल्लो एक महीनामा असाधारण वृद्धि देखिएको छ।
यसबीचमा लगानीकर्ताको सम्पत्तिको मूल्यमा झन्डै रु. ११ खर्बको वृद्धि भइसकेको छ। नेप्से परिसूचकमा पनि ७०० अंकभन्दा बढीले सुधार आएको हो।
बुधबार युनाइटेड अजोड इन्सुरेन्स, गोर्खा फाइनान्स, श्री इन्भेष्टमेन्ट, रिलायन्स फाइनान्स लगायत कम्पनीको शेयर मूल्यमा सर्वाधिक धेरै १० प्रतिशतले बढोत्तरी भएको छ।
यस्तै, हिमालयन रिइन्सुरेन्स, माउन्टेन हाइड्रो, शिवम सिमेन्ट जस्ता कम्पनीको शेयरको सर्वाधिक कारोबार भएको छ।