बाबु शेर्पाले जिते एनसेल ओपन गल्फ प्रतियोगिताको उपाधि
![बाबु शेर्पाले जिते एनसेल ओपन गल्फ प्रतियोगिताको उपाधि](https://www.himalkhabar.com/uploads/posts/800X600/ncell-(2)-1702195063.jpg)
एनसेल ओपन गल्फ प्रतियोगिताको उपाधि बाबु शेर्पाले जितेका छन्।
गोकर्ण गल्फ क्लबमा ‘स्टेबल फोर्ड’ पद्धतिमा खेलाइएको प्रतियोगिता १२ ह्यान्डीक्यापमा खेलेका शेर्पाले ४२ अंक जोड्दै उपाधि जितेका हुन्। उनले ट्रफीसँगै सामसङ ग्यालेक्सी जेड फोल्ड फाइभ पाएका छन्।
४१ पोइन्ट सहित बराबरमा रहेका प्रदीप केसी र स्वदेश गुरुङबीच ब्याक नाइनमा २३ अंक जोड्दै केसी उपविजेता भए। केसीले ट्रफीसँगै फ्लाई दुबईको तर्फबाट दुबईको टिकट प्राप्त गरेका छन्।
३९ ग्रस अंक जोड्दै बेस्ट ग्रसको उपाधि सद्भाव आचार्यले जितेका छन्। उनी लंगेस्ट ड्राइभको पुरस्कार पनि जित्न सफल भए। उनले ट्रफीसँगै सामसङको ग्यालेक्सी जेड फ्लिप पुरस्कार प्राप्त गरे।
त्यस्तै, ३८ पोइन्ट बनाउँदै महिलातर्फको खेलमा तारा कार्की चित्रकारले उपाधि जितेकी छन्। उनले ट्रफीसँगै फ्लाई दुबईको तर्फबाट दुबईको टिकट प्राप्त गरेकी छन्। प्रतियोगितामा गीता गुरुङ ३२ पोइन्ट बनाउँदै महिलातर्फको खेलमा उपविजेता बनिन्।
६० वर्षभन्दा माथिको प्रतिस्पर्धामा ३७ पोइन्टका साथ रवीन्द्र ढकाल पुरुष सिनियर्सतर्फबाट विजयी भए। होलको आठ इन्च नजिक बल प्रहार गरेर क्लोजेस्ट टू द पीनको उपाधि ज्ञानबहादुर धेन्गाले जिते भने नोर्बु शेर्पा ६ बर्डिजका साथ मस्ट बर्डिजको उपाधि जित्न सफल भए।
प्रतियोगितामा १४३ जनाले प्रतिस्पर्धा गरेका थिए। यो प्रतियोगिता एनसेलले आयोजना गरेको थियो।
प्रतियोगितामा दर्ता शुल्कबाट दुई लाख ८६ हजार रुपैयाँ संकलन भएको छ। यसमा एनसेलले आफ्नो तर्फबाट थपेर जाजरकोट र रुकुम पश्चिमको पुनर्निर्माणमा सहयोग गर्ने जनाइएको छ।