सर्वोच्चका लागि सिफारिश न्यायाधीश विरुद्ध १० उजुरी
![सर्वोच्चका लागि सिफारिश न्यायाधीश विरुद्ध १० उजुरी](https://www.himalkhabar.com/uploads/posts/800X600/jbr-1701942085.jpg)
सर्वोच्च अदालतमा सिफारिश भएका न्यायाधीश विरुद्ध संसदीय सुनुवाइ समितिमा १० वटा उजुरी परेका छन्।
समितिका ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराको अध्यक्षतामा बिहीबार सिंहदरबारमा बसेको बैठकमा उजुरी खोल्दा १० वटा परेको पाइएको हो। सर्वोच्चका लागि सिफारिश भएका न्यायाधीशमा सारंगा सुवेदीका नाममा ६, टेकप्रसाद ढुंगानाका नाममा तीन र अब्दुल अजिज मुसलमानका नाममा एउटा उजुरी परेको समितिका सभापति जबराले बताए।
त्यस्तै, तीन जना विरुद्ध कुनै उजुरी परेको छैन। सर्वोच्चको न्यायाधीशका लागि सिफारिश भएका महेश शर्मा पौड्याल, सुनील पोखरेल र बालकृष्ण ढकालको नाममा कुनै पनि उजुरी नपरेको जबराले बताए।
समितिका सदस्यहरूले उजुरी उपर र कार्ययोजनाको विषयमा विस्तृत रूपमा अध्ययन गर्नुपर्ने भएकाले केही दिन समय दिनुपर्ने माग गरेका छन्। अध्ययन समितिले सिफारिश भएका न्यायाधीशहरूको सुनुवाइका लागि यही मंसीर २७ गते उजुरीकर्तासँग छलफल गर्ने कार्यक्रम तय गरेको छ।
त्यस्तै, समितिले आजको बैठकमा सुनुवाइका लागि मंसीर २९, आगामी पुस १ र २ गते दुई-दुई जनाको सुनुवाइ गर्ने निर्णय गरेको छ। न्याय परिषद्ले सर्वोच्च अदालतमा रिक्त न्यायाधीश नियुक्तिका लागि मंसीर ५ गते ६ जनाको नाम सिफारिश गरेको थियो।