बालकृष्ण खाणको मुद्दामा न्यायाधीशको मत बाझियो, तत्काल नछुट्ने
![बालकृष्ण खाणको मुद्दामा न्यायाधीशको मत बाझियो, तत्काल नछुट्ने](https://www.himalkhabar.com/uploads/posts/800X600/balkrishna_khand_1683287562.jpg)
नक्कली भूटानी शरणार्थी प्रकरणमा थुनामा रहेका पूर्व गृहमन्त्री बालकृष्ण खाण तत्काल नछुट्ने भएका छन्।
शुक्रबार उच्च अदालत, पाटनका न्यायाधीश जनक पाण्डे र न्यायाधीश प्रकाश खरेलको राय बाझिएको हो। न्यायाधीश पाण्डेले खाणलाई ३० लाख धरौटीमा छाड्ने राय दिएका थिए।
उनको रायसँग अर्का न्यायाधीश खरेलको राय बाझिएको हो। न्यायाधीश खरेलले जिल्ला अदालत, काठमाडौंको आदेशलाई नै सदर गरेका हुन्। यसअघि काठमाडौं जिल्ला अदालतले खाणलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको थियो।
दुवै न्यायाधीशको राय बाझिएपछि अर्का न्यायाधीशको इजलासमा पेश गर्न आदेश भएको छ। अब खाणको रिट निवेदनमाथि अर्को इजलासमा सुनुवाइ हुनेछ।