समलिंगी विवाह दर्ता गर्न पञ्जीकरण विभागको परिपत्र
![समलिंगी विवाह दर्ता गर्न पञ्जीकरण विभागको परिपत्र](https://www.himalkhabar.com/uploads/posts/800X600/Marriage_1619447150.jpg)
राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले समलिंगी विवाह दर्ता गर्न लमजुङको दोर्दी गाउँपालिकालाई परिपत्र गरेको छ।
पञ्जीकरण विभागका शाखा अधिकृत समीर भण्डारीले पठाएको पत्रमा दोर्दी गाउँपालिका-२ का रामबहादुर गुरुङ र नवलपरासीको कावासोती नगरपालिका-८ का सुरेन्द्र पाण्डेको विवाह दर्ता गर्न भनिएको छ। पञ्जीकरण विभागले सर्वोच्च अदालतको अन्तरिम आदेशलाई आधार बनाएर विवाह दर्ता गर्न परिपत्र गरेको हो।
रामबहादुर र सुरेन्द्रले विवाह दर्ता गर्न दोर्दी गाउँपालिकामा निवेदन दिएका थिए। समलिंगी विवाह दर्ता गर्ने कि नगर्ने भनेर गाउँपालिकाले मंसीर ८ मा पञ्जीकरण विभागसँग राय मागेको थियो। त्यसको जवाफमा विभागले समलिंगी विवाह दर्ता गर्न परिपत्र गरेको हो।
यसअघि पिंकी गुरुङ (सञ्जीव गुरुङ)को रिटमा सर्वोच्चले समलिंगी विवाह दर्ता गर्न अन्तरिम आदेश दिएको थियो। त्यसमा मुद्दाको किनारा लाग्दा त्यही अनुसार हुने गरी तत्काललाई विवाह दर्ता गर्न भनेको थियो।
पञ्जीकरण विभागले पनि त्यही नजीरलाई आधार मानेर विवाह दर्ता गर्न भनेको छ। विभागको पत्रमा भनिएको छ, “हाललाई सम्बन्धित जोडीले भरेको सूचना फारमका आधारमा अनलाइन विवाह दर्ताको प्रमाणपत्र प्रिन्ट गरी प्रमाणपत्रमा ‘सम्मानित सर्वोच्च अदालतको अन्तरिम आदेश बमोजिम विवाहको अस्थायी अभिलेख रहने गरी जारी गरिएको’ बेहोरा हातले लेखी प्रमाणपत्र जारी गर्नुहुन र उक्त प्रमाणपत्र र सूचना फारमलाई स्क्यान गरी प्रणालीमा अपलोड गर्नुहुन निर्णयानुसार अनुरोध छ।”