सर्वाधिक आयकर तिर्ने विजयकुमार शाह सम्मानित
![सर्वाधिक आयकर तिर्ने विजयकुमार शाह सम्मानित](https://www.himalkhabar.com/uploads/posts/800X600/bijayabahadurshah-1700715665.jpg)
व्यवसायी विजयकुमार शाह गत आर्थिक वर्ष २०७९/८० मा सरकारलाई सबैभन्दा धेरै कर तिर्ने व्यक्तिका रूपमा सम्मानित भएका छन्।
शाहले व्यक्तिगत आयबाट सबैभन्दा धेरै आयकर तिरेको भन्दै आन्तरिक राजस्व विभागले बिहीबार उनलाई सम्मान गरेको हो। जावलाखेल ग्रूप अफ इन्डस्ट्रिज तथा नेपाल स्टक एक्सचेन्जमा सूचीकृत कम्पनी हिमालयन डिस्टिलरीका संस्थापक पनि हुन्।
कर दिवसको अवसरमा अर्थमन्त्री डा. प्रकाशशरण महतले शाह सहित धेरै कर तिर्ने कम्पनीका प्रतिनिधिलाई सम्मान गरे। गएको पाँच वर्षदेखि सर्वाधिक कर तिर्दै आएको र यस वर्ष पनि सर्वाधिक कर तिरेकोमा सूर्य नेपाल दुई विधामा सम्मानित भयो। चुरोट, अगरबत्ती लगायत सामग्री बिक्री गर्ने यो सर्वाधिक नाफा कमाउने कम्पनीमध्ये एक हो।
गत वर्ष संस्थागततर्फ सर्वाधिक आयकर तिरेकोमा नेपाल टेलिकम पनि सम्मानित भयो। त्यसैगरी ब्यांक वित्तीय संस्थामध्ये ग्लोबल आईएमई ब्यांकले सर्वाधिक कर तिरेकोमा पुरस्कृत भयो। रेमिटेन्स कम्पनीतर्फ आईएमई सर्वाधिक कर तिरेकोमा सम्मानित भयो। आईएमई नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालको लगानीको कम्पनी हो।
बीमातर्फ सर्वाधिक कर तिर्ने लाइफ इन्सुरेन्स कर्पोरेशन पनि सम्मानित भयो। सर्वाधिक निर्यात गर्ने डाबर नेपाल, विशेष उद्योगका रूपमा एशियन पेन्ट्स, कृषितर्फ ओबिस फूड्स एन्ड फिट्स, सहकारी तथा लघुवित्तबाट छिमेक लघुवित्तले सर्वाधिक कर तिरेकोमा सम्मान पाए। स्वास्थ्य तथा शिक्षातर्फ नोबेल मेडिकल कलेज, पर्यटन व्यवसायतर्फ मनकामना केबलकार, वस्तु व्यापारमा भाटभटेनी सुपरमार्केटले सर्वाधिक कर तिरेकोमा सम्मान पाए।
मध्यमस्तरीय करदातामा नेपाल स्टक एक्सचेन्ज तथा ऊर्जामा भोटेकोशी पावर कम्पनीलाई पनि सम्मान गरियो। आन्तरिक राजस्व विभागले पछिल्ला वर्षहरूमा सर्वाधिक कर तिर्ने व्यक्ति र संस्थालाई सम्मान गर्दै आएको छ।১