‘काठमाडौं स्कूल अफ ल’ ले संघीयता सम्बन्धी दुईदिने अन्तर्राष्ट्रिय सम्मेलन गर्दै
![‘काठमाडौं स्कूल अफ ल’ ले संघीयता सम्बन्धी दुईदिने अन्तर्राष्ट्रिय सम्मेलन गर्दै](https://www.himalkhabar.com/uploads/posts/800X600/KUprogram-1700619418.jpg)
काठमाडौं विश्वविद्यालयको ‘स्कूल अफ ल’ ले संघीयताबारे छलफल गर्न आजबाट पहिलो अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गर्दै छ।
‘फर्स्ट इन्टरन्याशनल कन्फरेन्स अन फेडेरलिज्म : एन अपर्च्यूनिटी टु एक्जामिन नेपाल्स गेन्स एन्ड च्यालेन्जेज् अहेड’ (संघीयता सम्बन्धी पहिलो अन्तर्राष्ट्रिय सम्मेलन : नेपालका उपलब्धि र भावी चुनौती पर्गेल्ने अवसर) नाम दिइएको उक्त सम्मेलन दुई दिन चल्नेछ।
द मल्ल होटल काठमाडौंमा सम्मेलन आयोजना हुँदै छ। सम्मेलनले राष्ट्रिय र अन्तर्राष्ट्रिय विज्ञ तथा नीतिनिर्मातालाई संघीय सरकारको जटिलताबारे गहिरो छलफल गर्न महत्त्वपूर्ण मञ्च प्रदान गर्ने अपेक्षा गरिएको छ। साथै, तुलनात्मक ज्ञान, प्रमाण र तथ्यांक मार्फत संघीय शासनको प्रभावकारिता बढाउन रणनीति अन्वेषण गर्ने पनि बताइएको छ।
अस्ट्रेलियन सरकारको रणनीतिक साझेदारीमा एशिया फाउन्डेशनले कार्यान्वयन गरेको सबन्याशनल गभर्नेन्स प्रोग्रामको सहायतामा सम्मेलन आयोजना गरिएको हो।
सम्मेलनको उद्घाटन उपराष्ट्रपति रामसहायप्रसाद यादवले गर्नेछन्। अस्ट्रेलियाका पूर्व प्रधानन्यायाधीश रोबर्ट फ्रेन्चले मुख्य वक्ताका रूपमा मन्तव्य राख्नेछन् भने सर्वोच्च अदालतका न्यायाधीश डा. आनन्दमोहन भट्टराईले उद्घाटनसत्रमा विशेष मन्तव्य राख्नेछन्।
यस्तै, नेपालका लागि अस्ट्रेलियाली राजदूत फेलिसिटी भोल्क र काठमाडौं विश्वविद्यालय स्कूल अफ लका डीन प्राध्यापक डा. हृषीकेश वाग्ले सहित अरू विज्ञहरूले भोलि हुने समापनसत्रमा विशेष मन्तव्य राख्नेछन्।
२५ अन्तर्राष्ट्रिय र १०० नेपाली सम्मेलनमा सहभागी हुने अपेक्षा गरिएको छ।