अन्तिम खेलमा नेपाल ६७ रनले विजयी
![अन्तिम खेलमा नेपाल ६७ रनले विजयी](https://www.himalkhabar.com/uploads/posts/800X600/NepaliMahilaCricket-1700124774.jpg)
चार देश सम्मिलित महिला टी-२० शृंखला अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले जापानलाई ६७ रनले पराजित गरेको छ।
हङकङमा भएको खेलमा नेपालले जापानलाई जितका लागि ११४ रनको लक्ष्य दिएको थियो। जापानले निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै ४६ रन मात्र बनायो।
यसअघि टस हारेपछि पहिला ब्याटिङ गर्दै नेपालले चार विकेटको क्षतिमा ११३ रन बनाएको थियो। नेपालका लागि रुबिना क्षेत्रीले ३२ बलमा पाँच चौकाको मद्दतमा ३८ रन बनाइन्। यस्तै, कप्तान इन्दु बर्माले ३१ बलमा दुई चौका प्रहार गर्दै २७ रनको योगदान दिइन्। काजल श्रेष्ठले अविजित १५ तथा पूजा महतोले १३ रन बनाए।
बलिङतर्फ जापानकी एलिना कुशुदा नाइरनले दुई तथा मेग ओगावा र आयुमी फुजिकावाले समान एक विकेट लिए।
लक्ष्य पछ्याउने क्रममा जापानका लागि मेग ओगावाले १७ रन बनाइन्। यस्तै, सेइका सुमीले १३ रनको योगदान दिइन्। हिनासे गोटोले तीन रन बनाइन्।
बलिङतर्फ नेपालकी अश्मिना कर्माचार्यले चार, संगीता राईले तीन तथा पूजा महतो दुई विकेट लिए।
नेपाल र जापान दुवै यस प्रतियोगिताको उपाधि भिडन्तबाट बाहिरिइसकेका छन्। नेपाल पहिलो खेलमा बुधबार तान्जानियासँग २७ रन तथा दोस्रो खेलमा हङकङसँग नौ विकेटले पराजित भएको थियो।
आईसीसी वरीयतामा तान्जानिया १९, नेपाल २१, हङकङ २२ तथा जापान ५१औं स्थानमा छन्। तान्जानिया र हङकङ उपाधि जित्नका लागि खेल्नेछन्।