कृत्रिम बुद्धिमत्ताले करीब ४० लाख रोजगारी सङ्कटमा पार्ने
दक्षिण कोरियाको केन्द्रीय ब्यांकले अबको दुई दशकमा कोरियामा कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिले झन्डै ४० लाख रोजगारी सङ्कटमा पार्ने बताएको छ।
ब्यांक अफ कोरियाले जारी गरेको एक अध्ययन प्रतिवेदन अनुसार एआई प्रविधिले डाक्टर, वकील, अकाउन्टेन्ट, केमिस्ट लगायतको रोजगारी सङ्कटमा पार्नेछ। ‘राम्रो शैक्षिक पृष्ठभूमि भएका उच्च कमाइ गर्ने कर्मचारीले एआईको सामना गर्नुपर्ने र उनीहरू नै प्रविधिले प्रतिस्थापन हुने जोखिम देखिएको’ अध्ययनले देखाएको छ।
अध्ययनका अनुसार अधिकतर विश्लेषण गर्नुपर्ने काम जोखिममा पर्ने देखिएको छ। तर शिक्षणमा आबद्ध र खाद्यको क्षेत्रमा काम गरिरहेकाहरूको जागीर गुम्ने खतरा कम रहेको देखिएको छ।
ब्यांक अफ कोरियाको अध्ययन प्रतिवेदन अनुसार एआई प्रणाली विकास गर्ने तथा त्यसलाई अद्यावधिक राख्ने काम गर्ने सफ्टवेयर इन्जिनीयर लगायतलाई भने रोजगारीका नयाँ अवसर सिर्जना हुन सक्ने पनि देखिन्छ।
प्रतिवेदनले एआईसँग सम्बन्धित नवप्रवर्तनलाई भने राम्रो अवसर दिने आकलन गरेको छ। एआईका कारण नयाँ खुल्ने अवसर एउटा निश्चित क्षेत्रमा केन्द्रित हुने भएकाले केही कामदारलाई नयाँ क्षेत्रमा फड्को मार्न भने गाह्रो हुने आकलन सो अध्ययन प्रतिवेदनको छ।