पक्की पुल बनाउन बजेट अभाव भएपछि तमोरमा काठको पुल
ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाभित्र गाउँ गाउँसम्म यातायात सेवा दिने उद्देश्यले तमोर नदीमा काठको पुल निर्माण गरिएको छ।
पक्की पुल निर्माण गर्न बजेट अभाव भएपछि गाउँपालिकाले दुई वटा काठको पुल निर्माण गरेको हो। सदरमुकाम फुङलिङबाट पालिका क्षेत्र पुग्ने सानो खोलामा पाँच वटा मोटरेबल पुल निर्माण तथा मर्मतसम्भार गरेको गाउँपालिकाले जनाएको छ।
फक्ताङलुङ गाउँपालिकाले चालू आर्थिक वर्षमा अस्थायी रूपमा काठको पुल निर्माण तथा मर्मतसम्भार गर्न रु.१० लाख बजेट विनियोजन गरेको छ। विनियोजित बजेटबाट तमोर नदीमा काठेपुल निर्माण गरिएको छ भने अन्य पुल मर्मतसम्भार गर्ने योजना छ।
फक्ताङलुङ भौगोलिक रूपमा विकट छ। तमोर नदीको दुवैतर्फ यो गाउँपालिका विभाजित छ। वडा नं १ सावा दिन, वडा नं २ खेजेनिम, वडा नं ४ इखाबु र वडा नं ६ लेलेप तमोर नदीको दायाँ भागमा पर्दछन्।
यस्तै, वडा नं ३ लिङखिम र वडा नं ५ तापेथोक र वडा नं ६ लेलेपका सेकाथुम र अन्य गाउँ तमोर नदीको बायाँ किनारामा पर्छन्। एक गाउँबाट अर्को गाउँ आवतजावत गर्न तमोर नदी तर्नुपर्छ।
अहिले प्रायः सबै वडा सडक सञ्जालले जोडिएका छन्। गाउँ गाउँलाई सडक सञ्जालले जोडे पनि मोटरेबल पुलको अभावमा समस्या झेलिरहेका यहाँका बासिन्दाका लागि गाउँपालिकाले तमोर नदीमा अस्थायी काठको मोटरेबल पुल निर्माण गरेको हो।
पुल निर्माणपछि अहिले गाउँ गाउँमा यातायात सेवा पुगेको फक्ताङलुङ गाउँपालिका-१ का वडाध्यक्ष यज्ञप्रसाद लिम्बूले बताए। यसअघि पक्की मोटरेबल पुलको अभावमा स्थानीयवासी तमोर नदीमा जोखिमपूर्ण यात्रा गर्न बाध्य थिए।
गाउँपालिकाले विगत ६ वर्षदेखि अस्थायी काठे मोटरेबल पुल निर्माण गरेर गाउँ गाउँमा सवारी साधन पुर्याउँदै आएको छ। अन्य ठाउँमा आवश्यकता अनुसार काठेपुल निर्माण गर्दै जाने लिम्बूले बताए। -रासस