टी-२० विश्वकप एशिया क्वालिफायर : आज नेपाल र ओमन भिड्दै
![टी-२० विश्वकप एशिया क्वालिफायर : आज नेपाल र ओमन भिड्दै](https://www.himalkhabar.com/uploads/posts/800X600/NepaliCricketFileImage-1698891671.jpg)
आईसीसी पुरुष टी-२० विश्वकप एशिया क्वालिफायर फाइनल २०२३ अन्तर्गत नेपालले आज समूह चरणको अन्तिम खेल खेल्दै छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज बिहान ९ बजेबाट शुरू हुने खेलमा नेपालले ओमनको सामना गर्नेछ। नेपाल र ओमन समूह ‘ए’ का शीर्ष दुई टोली हुन्। दुवै टोलीले आफ्नो पहिलो दुई खेलमध्ये दुवैमा जित हात पारेका थिए।
नेपालले पहिलो खेलमा सिंगापुरलाई आठ विकेटले पराजित गरेको थियो भने दोस्रोमा मलेशियालाई ६ विकेटले पराजित गरेको थियो। यस्तै, ओमानले पहिलो खेलमा मलेशियालाई ३२ रनले हराएको थियो भने दोस्रोमा सिंगापुरलाई २२ रनले हराएको थियो।
यद्यपि अहिले रनरेटका आधारमा ओमन नेपालभन्दा माथि छ। समान चार अंक भए पनि ओमनको रनरेट +१.३५० छ भने नेपालको +१.३२२ छ।
यसअघि नै नेपाल र ओमन आफ्नो दुई खेल जितेर सेमिफाइनल प्रवेश गरिसकेका छन्। आज यी दुई टोलीबीच समूह विजेता टुंग्याउने खेल हुनेछ।
प्रतियोगिता अन्तर्गतै आज मूलपानी क्रिकेट मैदानमा बिहान ९ बजे हङकङ र यूएई भिड्दै छन्। यस्तै, त्रिवि मैदानमै आज दिउँसो १:१५ बाट सिंगापुर र मलेशियाबीचको खेल छ भने सोही समयमा मूलपानीमा बहराइन र कुवेत भिड्नेछन्।