राष्ट्रसंघका महासचिवको सुरक्षामा खटिएका प्रहरीको लेक लागेर मृत्यु
![राष्ट्रसंघका महासचिवको सुरक्षामा खटिएका प्रहरीको लेक लागेर मृत्यु](https://www.himalkhabar.com/uploads/posts/800X600/tikaramm-dungana-1698825128.jpg)
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको सुरक्षाका लागि अन्नपूर्ण आधारशिविरमा खटिएका ४२ वर्षीय प्रहरी सहायक निरीक्षक टीकाराम ढुंगानाको लेक लागेर मृत्यु भएको छ।
प्रहरी सहायक निरीक्षक ढुंगाना नेपाली सेनाको हेलिकोप्टर मार्फत कात्तिक १२ गते अन्नपूर्ण आधारशिविर पुगेका थिए। उनले आफ्नो सामाजिक सञ्जाल फेसबूकमा समेत आधारशिविर पुगेको भिडिओ राखेका थिए।
राष्ट्रसंघका महासचिव गुटेरेस कात्तिक १४ गते हेलिकोप्टरमा आधारशिविर पुगेका थिए। गुटेरेस फर्किएपछि भने सहायक निरीक्षक ढुंगानालाई श्वासप्रश्वासमा समस्या देखिएको थियो।
हिंडेर फर्कने क्रममा गएराति हिमालयमा वास बसेका थिए। श्वासप्रश्वासको समस्याले झन् सताएपछि हेलिकोप्टर मार्फत बुधबार बिहान ९ बजे पोखरा ल्याइएको थियो। मणिपाल शिक्षण अस्पतालमा पुर्याइएका उनलाई केही समयमा नै चिकित्सकले मृत घोषणा गरेका हुन्।
अहिले उनको पोस्टमार्टम भइरहेको जिल्ला प्रहरी कार्याल्य कास्कीका प्रवक्ता डीएसपी श्रवणकुमार विकले जानकारी दिए। उनी घान्द्रुकका प्रहरी इन्चार्ज थिए। पर्वत घर भएका ढुंगानाका दुई सन्तान छन्।