सुनको मूल्य अहिलेसम्मकै उच्च, तोलाको ७० हजार
सुनको मूल्य प्रतितोला ७० हजार रुपैयाँ पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला ७० हजार र तेजाबी सुन तोलाको ६९ हजार ७०० रुपैयाँ पुगेको हो ।
पछिल्लो केही दिन यता सुनको मूल्य दैनिक बढ्दै गएको छ । बिहीबार मात्र तोलामा पाँच सय रुपैयाँ बढेर नयाँ रेकर्ड कायम भएको महासंघ अन्तर्गतको मूल्य निर्धारण समितिका संयोजक तेजरत्न शाक्यले बताए ।
एक सातामा सुन एक तोलामा चार हजार पाँच सय रुपैयाँ बढ्यो । अन्तर्राष्ट्रिय बजारमै सुनको भाउ बढिरहेकाले त्यसको असर नेपालमा पनि परेको र अझै केही दिन बढिरहने महासंघको भनाइ छ । चाँदीको मूल्य पनि हिजो तोलाको ८ सय १० रहेकोमा आज ८२५ रुपैयाँ पुगेको छ ।