पूर्वी पाल्पाको विकट क्षेत्र केन्द्रीय प्रसारण लाइनमा जोडियो
![पूर्वी पाल्पाको विकट क्षेत्र केन्द्रीय प्रसारण लाइनमा जोडियो](https://www.himalkhabar.com/uploads/posts/800X600/PALPA-1697345461.jpg)
पाल्पाको निस्दी गाउँपालिका-७ मा विद्युत् सेवा पुगेको छ।
पूर्वी पाल्पामा अवस्थित यस विकट क्षेत्रमा केन्द्रीय प्रसारण लाइनबाट विद्युत् सेवा विस्तार भएको हो। ज्यामिरे, मोटेखरक, अधमारा, सिन्दुरे र सिमलडाँडामा केन्द्रीय प्रसारण लाइनबाट विद्युत् सेवा विस्तार गरिएको वडाध्यक्ष मुक्तबहादुर पाटाले बताए।
गाउँका करीब ४५ घरमा विद्युत् सेवा पुगेको छ। सामुदायिक विद्युत् उपभोगका लागि हरेक वर्ष रकम बुझाउँदै आएका यहाँका स्थानीयलाई केन्द्रीय लाइनमा जोडिएपछि धेरै सहज भएको छ।
गाउँपालिकाका अध्यक्ष मुक्तबहादुर सारूले पालिकाभित्र बाँकी रहेका स्थानमा पनि केन्द्रीय प्रसारण लाइनको सेवा विस्तार गर्ने बताए।
निस्दीको बेभोके, रोल्लाबास, मदनपुर लगायत टोलमा विद्युत् विस्तारका लागि खम्बा गाड्ने र तार तान्ने काम भइरहेको छ। विद्युत् सुविधाको पहुँच भएपछि गाउँमा बत्ती बाल्न, विद्यार्थीलाई पढ्न, मोबाइल चार्ज गर्न, रेडियो, टेलिभिजन प्रयोग, कुटानीपिसानी मिल सञ्चालन गर्न सजिलो भएको छ।