चिकित्सकलाई कुटपिट गर्ने दुई जना जेल चलान
![चिकित्सकलाई कुटपिट गर्ने दुई जना जेल चलान](https://www.himalkhabar.com/uploads/posts/800X600/manipal_1695643896.jpg)
तीन साताअघि पोखराको मणिपाल शिक्षण अस्पतालका चिकित्सकलाई कुटपिट गर्ने र अस्पताल तोडफोड गर्ने दुई जनालाई जेल चलान गरिएको छ।
प्रहरीले पक्राउ परेकालाई स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन, २०६६ अन्तर्गत हातपात, तालाबन्दी तथा तोडफोड जस्ता कार्य गर्न नहुने कसूरमा अनुसन्धान प्रक्रिया अगाडि बढाएको थियो। प्रहरीको अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला अदालत, कास्कीले पुर्पक्षका लागि दुई जनालाई जेल पठाउन आदेश दिएको हो।
पोखरा महानगरपालिका-१७, हनुमान टोलका सुशील कार्की र पोखरा-५ का विनय गुरुङलाई जेल चलान गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। त्यस्तै, घटनामा संलग्न सात जना एक-एक लाख धरौटी बुझाएर तारेखमा छुटेका छन्।
पोखरा-४ का सुजित मुल्मी, पोखरा-५ का अविनाश गुरुङ, अरुण गुरुङ, पोखरा-९ का नितेश गुरुङ, विवेक गुरुङ र पोखरा-२० का मनीष थापा तथा पोखरा-११ प्रदीप गुरुङ एक-एक लाख रुपैयाँ धरौटी राखी तारेखमा छुटेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकले बताए।
यो घटनामा केही व्यक्तिको खोजी भइरहेको छ। पहिचान खुलेका १० जना र पहिचान नखुलेका केही व्यक्ति फरार रहेकाले खोजी भइरहेको प्रहरी नायब उपरीक्षक विकले बताए।
असोज ८ गते लमजुङको सुन्दरबजार नगरपालिका-६ की ५७ वर्षीया सुकमाया दुराको उपचारका क्रममा मृत्यु भएको थियो। त्यएपछि पोखरा महानगरपालिका-११, फूलबारीस्थित मणिपाल शिक्षण अस्पतालका चिकित्सकलाई मृतकका आफन्तले कुटपिट गरेका थिए।
अस्पताल तोडफोड गरेपछि कास्की प्रहरीले नौ जनालाई पक्राउ गरी अनुसन्धान शुरू गरेको थियो। पोखराको मणिपाल अस्पतालको घटनालाई लिएर कास्की सहित देशभरका चिकित्सकले आकस्मिक बाहेकका सेवा बन्द गरी आन्दोलनमा उत्रिएका थिए। सरकारले चिकित्सक कुटपिट गर्नेलाई पक्राउ गरी कानूनी कारबाहीको प्रतिबद्धता जनाएपछि चिकित्सक काममा फर्किएका थिए।