मन्त्री शर्माको अभिव्यक्ति विरुद्धको रिटमा सोमबार सुनुवाइ
![मन्त्री शर्माको अभिव्यक्ति विरुद्धको रिटमा सोमबार सुनुवाइ](https://www.himalkhabar.com/uploads/posts/800X600/supreme_court_1598001105.jpg)
सूचना तथा सञ्चार मन्त्री रेखा शर्माको अभिव्यक्ति विरुद्ध परेको रिटमा सोमबार सर्वोच्च अदालतमा सुनुवाइ हुने भएको छ।
मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न असोज १७ गते आयोजित कार्यक्रममा मन्त्री शर्माले ‘फागुन १ गतेको बिदा फिर्ता हुँदैन’ भनेकी थिइन्। मन्त्रीको यो धारणा अदालतमा विचाराधीन विषयको विरोधमा भएको जिकिर गर्दै द्वन्द्वपीडित ज्ञानेन्द्रराज आरणले सर्वोच्चमा पूरक रिट दिएका थिए।
आरणले दिएको रिट आइतबार सर्वोच्च अदालतले दर्ता गरेको छ। यसमाथि सोमबार सुनुवाइ तोकिएको रिट निवेदक आरणले बताए।
२०७९ माघ २९ गते बसेको मन्त्रिपरिषद् बैठकले माओवादीले सशस्त्र युद्ध शुरू गरेको दिनलाई ‘जनयुद्ध’ दिवसका रूपमा मनाउन फागुन १ गते सार्वजनिक बिदा दिने निर्णय गरेको थियो। त्यस विरुद्ध आरणले दिएको रिट सर्वोच्चमा विचाराधीन छ।