क्वान्टम डट्सका आविष्कारकलाई रसायनशास्त्रतर्फको नोबेल पुरस्कार
यस वर्षको रसायनशास्त्रतर्फको नोबेल पुरस्कार तीन जना वैज्ञानिकलाई प्रदान गरिने भएको छ।
‘रोयल स्वीडिश एकेडेमी अफ साइन्सेज’ ले वैज्ञानिकहरू मोंगी जी. बवेन्डी, लुइस ई. ब्रुस र अलेक्सेई ई. एकीमोभलाई संयुक्त रूपमा पुरस्कृत गर्ने निर्णय गरेको हो।
सन् १९६१ मा फ्रान्सको पेरिसमा जन्मिएका बवेन्डीले सन् १९८८ मा अमेरिकाको सिकागो विश्वविद्यालयबाट विद्यावारिधि गरेका थिए। हाल उनी ‘म्यासाचुसेट्स इन्स्टिच्यूट अफ टेक्नोलोजी (एमआईटी)’ मा प्राध्यापक छन्।
सन् १९४३ मा अमेरिकामा जन्मिएका ब्रुसले सन् १९६९ मा कोलम्बिया विश्वविद्यालयबाट विद्यावारिधि गरेका थिए। हाल उनी कोलम्बिया विश्वविद्यालयमै प्राध्यापक छन्।
सन् १९४५ मा तत्कालीन सोभियत संघमा जन्मिएका एकिमोभपले सन् १९७४ मा रुसको इओफ फिजिकल टेक्निकल इन्स्टिच्यूटबाट विद्यावारिधि गरेका थिए। हाल उनी अमेरिकाको न्यानोक्रिस्टिल्स टेक्नोलोजी इनकर्पोरेटेडमा कार्यरत छन्।
उनीहरूलाई ‘क्वान्टम डट्सको आविष्कार र निर्माणका लागि’ पुरस्कृत गरिएको एकेडेमीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
क्वान्टम डट्सहरू असाध्यै साना मणिभ (क्रिस्टल)हरू हुन्, जसभित्र हजारौं परमाणु हुन्छन्। पृथ्वीको आकारको तुलनामा फूटबल जति सानो हुन्छ, फूटबलको तुलनामा यी डट्स पनि त्यति नै साना हुन्छन्।
यी न्यानोपार्टिकलको आकारले नै गुण निधार्रण गर्छ। शरीरभित्र औषधि पुर्याउन, मेडिकल परीक्षण गर्नदेखि लिएर सोलार सेलसम्म यिनको उपयोग हुने गर्छ।
“क्वान्टम डट्सका अनेकौं उपयोगिता छन् र यिनको अरूभन्दा फरक गुण पनि छन्। खासगरी, यिनको आकारका आधारमा रङ पनि फरक हुने गर्छन्,” नोबेल कमिटी फर केमेस्ट्रीका जोहान एक्भिस्टले भनेका छन्।
भौतिकशास्त्रीहरू सैद्धान्तिक रूपमा न्यानोपार्टिकलमा आकारले गुण निर्धारण गर्ने विश्वास गर्थे, तर तिनको निर्माण गर्न सकिरहेका थिएनन्। यी तीन वैज्ञानिकको खोजले त्यो असम्भवलाई सम्भव बनायो।
अहिले यी क्वान्टम डट्स क्यूएलईडी प्रविधिमा आधारित कम्युटर मनिटर र टेलिभिजनमा प्रयोग भइरहेका छन् जसले उच्च गुणस्तरको दृश्य देखाउने गर्छन्।
भविष्यमा यी क्वान्टम डट्सको प्रयोगले साना सेन्सर, पातला सोलर सेल निर्माण गर्न सकिने वैज्ञानिकहरूको विश्वास छ।