कस्ता पुस्तक खोज्दै छन् पाठक?
पुल्चोकमा चलिरहेको साझाको पुस्तक प्रदर्शनीमा दैनिक चार हजारभन्दा बढी पाठकले ऐतिहासिक तथा सामाजिक लगायत विषयवस्तु समेटिएका पुस्तक खोजिरहेका छन्।
ललितपुरको पुल्चोकस्थित साझा प्रकाशन परिसरमा चलिरहेको पुस्तक प्रदर्शनीमा प्रयोगशालाका लेखक सुधीर शर्मा किताब खोज्न व्यस्त देखिन्थे। शर्माको रुचि नेपाल-भारत सम्बन्ध तथा ऐतिहासिक विषयका किताबमा थियो।
उनी प्राचीन नेपाल र नेपाली संस्कृतिका अङ्कहरू छानिरहेका थिए। ५० रुपैयाँ मोलको प्राचीन नेपालको छूटपछिको मोल ३५ रुपैयाँ थियो भने पाँच रुपैयाँ मोलको नेपाली संस्कृति जम्मा तीन रुपैयाँ ७५ पैसामा उपलब्ध थियो।
सस्तोमा ऐतिहासिक र अप्राप्य किताब पाउँदा सकेसम्म किनौं भन्ने सोचमा देखिन्थे, प्रदर्शनीमा आएका पाठक। कतिपय त किताबको सूची बोकेरै प्रदर्शनीस्थल पुगेका थिए। “कति किताब त पहिल्यै लगिसकिएको हुन्छ। विचार गरेर मात्र किन्नुपर्छ,” शर्माले भने, “त्यही भएर अचेल त किन्नुपर्ने किताबको सूची मोबाइलमा बोकेर हिंड्छु।”
आख्यानकार नयनराज पाण्डे कथा, उपन्यास र संस्कृति सम्बन्धी किताब छानिरहेका थिए। पाण्डेले छानेका किताबमा अशोकमान सिंको नेपालका महत्त्वपूर्ण सम्पदाहरूको किंवदन्ती र संक्षिप्त इतिहास पनि थियो।
किताब छानिरहँदा उनलाई धेरैले ‘के पढिरहनुभएको छ’ भनेर सोधेनन्, बरु ‘के लेखिरहनुभएको छ’ भनेर प्रश्न गरिरहेका थिए। पाठकका प्रश्नमा उलार र लूका लेखक हाँस्दै ‘खै, केही लेख्नै पाएको छैन’ भन्ने जवाफ फर्काइरहेका थिए।
चिनियाँ विद्युतीय सामग्रीको व्यापारमा संलग्न हरि ढकाल भने आफ्ना मित्रलाई राम्रा पुस्तक छानिदिन आग्रह गर्दै थिए। नराम्रो किताब किनिने जोखिमबाट जोगिन साथीसँग किताब सिफारिश गरिमागेको ढकालको तर्क थियो। “किताब पढिसकेको मान्छेको सिफारिश काम लाग्छ,” ढकालले भने, “कम्तीमा पनि नराम्रो किताब किन्नुपर्ने र पढ्नुपर्ने जोखिम हुँदैन।”
उनले छानेकामा आख्यान र बालसाहित्यका किताब थिए। कथामा ध्रुवचन्द्र गौतम, राजव; संस्मरणमा धच गोतामे, राममणि रिसाल, निमोर्ही व्यासका किताब थिए। त्यस्तै, बुँद राना, माधव घिमिरेका बालसाहित्य र हितोपदेशका कथा पनि ढकालले रोजेका थिए।
साझा प्रकाशन छिर्ने मूल गेटसँगैको पुरानो टहरामा पुस्तक छान्न व्यस्त थिए अध्येता नवीन थापा। मानवशास्त्रका विद्यार्थी थापाले अचेल २०५० को दशकअघिको सामाजिक, सांस्कृतिक पुस्तक सङ्कलन गरिरहेका थिए। जगदीशशमशेर राणाको नाचगानको राजधानी भक्तपुर खोजिरहेका उनले आफूले भेटिएला भनी नसोचेको राणाकै पुस्तक दश दृष्टिकोण पाएको बताए।
दुई झोला भरिने गरी किनेका १८ वटा पुस्तकलाई जम्मा ५२५ तिरेको उनले सुनाए। प्रदर्शनीमा अधिकांश पुस्तक पुरानै हुने भए पनि प्रत्येक पटक आफूले खोजिरहेको कुनै नै कुनै पुरानो पुस्तक भेटिने गरेकाले सधैं आउने गरेको उनको भनाइ थियो।
२०४३ सालमा प्रकाशित यो पुस्तकको कुन चाहिं प्रति सग्लो छ भनी उनी छानिरहेका थिए। त्यस्तै, उनले वासुदेव शर्मा लुइँटेल सम्पादित तथा प्रकाशित पुस्तक पनि उपयोगी हुने बताउँदै केलाइरहेका थिए। लुइँटेल सम्पादित समाजसुधारक देवीप्रसादको जीवनी हवल्दार देवीप्रसादको मोल जम्मा दुई रुपैयाँ थियो भने छूटपछिको मोल एक रुपैयाँ।
“अहिले चर्चामा रहेका अधिकांश किताबभन्दा २०५० को दशकका सामाजिक इतिहासका किताब उपयोगी छन्,” ढकालले भने, “प्रदर्शनीमा राखिएका पुस्तक सस्ता पनि छन्।”
किताब किन्न आउने पाठकलाई सघाइरहेको थिए, साझाका निमित्त महाप्रबन्धक भेषराज घिमिरे। प्राध्यापक नीलमणि ढुंगानाको व्युत्पत्तिमूलक संस्कृत-नेपाली शब्दकोश कसरी उपयोगी छ भन्ने कुरा प्रदर्शनीमा आएका पाठकलाई बताइरहेका थिए। ‘अग्नि’ शब्दको उत्पत्ति र व्युत्पति तथा त्यसको नामबारे लेखक ढुंगानाले सोदाहरण कसरी वर्णन गरेका छन् भन्ने विस्तारमा बताउँदै थिए।
दुई हजार ८०० रुपैयाँ पर्ने शब्दकोश प्रदर्शनीमा दुई हजार १०० रुपैयाँमा उपलब्ध छ। प्रदर्शनीमा खोजिएको पुस्तकमध्ये शब्दकोश पनि एक भएको घिमिरेले बताए।
त्यस्तै, बाबुराम आचार्यको पृथ्वीनारायण शाहको संक्षिप्त जीवनी पनि प्रदर्शनीमा खोजिएको किताबमध्ये एक हो। प्रदर्शनीकै मुखमा पुनर्मुद्रण भएर आएको यो पुस्तकको मोल एक हजार छ, तर ३० प्रतिशत छूट हुँदा पाठकले ७०० मा पाउँछन्।
नेपाल भाषा प्रकाशनी समितिबाट प्रकाशित पण्डित वासुदेव भट्टराईको श्रीमद्भागवत महापुराणको दुई खण्ड पनि साझाको खोजिने मध्येको किताब हो। लामो समय अप्राप्य रहेको यो पुस्तक प्रदर्शनीकै छेको पारेर मुद्रण गरिएको उनले सुनाए। पुराणको दुई ठेली एक हजार ८०० मा उपलब्ध छ।
साझाले बर्सेनि गर्ने प्रदर्शनी यस पटक दशैंअघि परेको छ। प्रदर्शनीमा आउने पाठकले सदा झैं मदन पुरस्कार तथा साझा पुरस्कार प्राप्त पुस्तक लाने गरेका छन्। त्यस बाहेक महाकवि देवकोटा, माधवप्रसाद घिमिरे, बीपी कोइराला, पारिजात, भूपी शेरचन, विजय मल्ल, गोविन्दबहादुर मल्ल ‘गोठाले’, धच गोतामेका किताब साझाका सदाबहार बिक्ने किताब हुन्। प्रदर्शनीमा लेखक, कर्मचारी, पत्रकार, विद्यार्थी लगायत मिश्रित पाठकको उपस्थिति रहेको घिमिरे बताउँछन्।
विगतमा देखिने पाठकको रुचि आख्यानबाट विस्तार हुँदै ऐतिहासिक र सामाजिक विधाका पुस्तकमा देखिएको घिमिरेले सुनाए। “विगतमा साझाले प्रकाशन गर्ने किताबमा कथा-आख्यानको संख्या नै अधिक हुन्थ्यो र धेरै बिक्ने किताब पनि तिनै हुन्थे,” उनले भने, “हाल राजनीतिक व्यवस्था पनि फेरिएकाले होला, धेरै पाठकको रुचि ऐतिहासिक पुस्तकमा देखिएको छ।”
प्रदर्शनीमा खोजिएको एउटा विधा र विषय पञ्चायत हो। २०१७ सालमा शुरू भएको निर्दलीय पञ्चायती व्यवस्था २०४६ सालमा समाप्त भएको थियो। “अहिलेको युवा पुस्तालाई पञ्चायतबारे धेरै थाहा नभएकाले पञ्चायती व्यवस्थाका विषयमा लेखिएका किताब खोज्न आउने धेरै छन्,” उनले भने, “नेपालका जातीय, भाषिक र सांस्कृतिक विविधतामाथि लेखिएका पुस्तक पनि पाठकले खोजिरहेका छन्।”
पत्रकार जेवी पुन मगर साझाको पुस्तक प्रदर्शनीमा नियमितजसो आइरहने बताउँछन्। “म यहाँ तीन पटक आइसकें,” उनले भने, “प्रत्येक पटक आउँदा केही न केही नयाँ किताब गोदामबाट आएको हुने रहेछ।”
नेपाल प्रज्ञा प्रतिष्ठानले प्रकाशन गरेको तिब्बत र नेपालमा इटालियन धर्मप्रचारकहरू मोहनबहादुर मल्ल लिखित सिजा इतिहासको डोरेटो को आवरण आफ्नो फेसबुकमा राखेपछि धेरैले त्यो पुस्तक खोजे। फेसबुकमा सो पुस्तक देखेपछि प्रदर्शनीमा आएका एमाले नेता रघुजी पन्तले पनि सोही किताब खोजिरहेका थिए। जम्मा दुई रुपैयाँ पचहत्तर पैसा मुल्यको सो पुस्तक सामाजिक इतिहासको अध्ययनको खँदिलो सामग्री रहेको पत्रकार मगरले बताए। पछिल्लो समय इतिहास र समाज बुझ्न चाहने पाठकहरुको संख्या बढ्दै गएको अनुभव आफूले गरेको उनको भनाइ छ।
पछिल्लो समय चर्चित पुस्तकहरू साह्रै खँदिलो नहुने र खँदिलो पुस्तक प्रकाशन गर्ने सिनास लगायतका संस्थाले हल्ला नगर्ने हुँदा हाम्रो पुस्ता सामाजिक र राजनीतिक इतिहासको राम्रो पुस्तकबाट विमुख भएको उनको ठहर थियो। “पछिल्लो समय समाज बुझ्न चाहने गम्भिर पठनमा पाठकहरूको रुचि रहेको पाएको छु” पत्रकार मगरले भने, “सिंजाको इतिहासको डोरेटो मलाई पनि किनिदिनु न भनेर देशका विभिन्न ठाउँबाट साथीहरूले भनेका छन्। विगतमा यस्तो किताबमा रुचि हुन्थेन।”
कतिपय विद्यालयले आफ्ना विद्यार्थीलाई पनि प्रदर्शनीमा ल्याइरहेका छन्। विद्यार्थी आफैं पनि प्रदर्शनीमा पुग्ने गरेका छन्। विद्यार्थी आउँदा त प्रदर्शनीमा दैनिक चार हजारभन्दा बढी पाठक पुग्ने गरेको साझाले जनाएको छ।
असोज २२ सम्म चल्ने प्रदर्शनी बिदाका दिनमा पनि जारी रहने गरेको छ। प्रदर्शनीमा दिइने छूट साझा प्रकाशनका देशभरका शाखामा पनि दिने व्यवस्था गरिएको छ।