‘नेपालमा बढ्दै छ भाजपाको हिन्दूत्व राजनीति’
भारतीय समाजमा साम्प्रदायिक सद्भाव बिथोल्ने गरी अभ्यास भइरहेको हिन्दूत्वको राजनीति नेपालमा पनि विस्तार भएकोमा एक कार्यक्रका वक्ताहरूले चिन्ता व्यक्त गरेका छन्।
फ्री प्रेस नेपालले बुधबार ललितपुरको पाटनमा आयोजना गरेको ‘हिन्दूत्व राजनीतिको फैलावट र इन्डियन-नेपाली मिडिया’ विषयक छलफल कार्यक्रमका वक्ताले नेपालमा चिन्ताजनक ढङ्गले हिन्दूत्वको राजनीति बढिरहेको औंल्याएका छन्।
कार्यक्रममा देशसञ्चार डटकमका सम्पादक युवराज घिमिरेले भारतमा हिन्दूत्व राजनीतिको विकासबारे संक्षिप्त व्याख्या गरेका थिए। हिन्दू धर्म, आस्था र भक्तिको राजनीतिक प्रयोग नै हिन्दूत्व भएको घिमिरेको भनाइ थियो।
सन् १९२५ मा राष्ट्रिय स्वयंसेवक संघ (आरएसएस)को स्थापना भएसँगै भारतीय राजनीतिमा हिन्दूत्वको अवधारणाले प्रवेश पाएको हो जसलाई सन् १९५१ मा स्थापित जनसंघले संसदीय राजनीतिको अजेन्डा बनायो। वर्तमान भारतीय जनता पार्टी (भाजपा) त्यही जनसंघबाटै विकसित भएको हो।
भारतीय राष्ट्रिय कंग्रेसको नेतृत्वमा धर्मनिरपेक्षताको सही अभ्यास नभएकै कारणले भारतमा हिन्दूत्व राजनीतिले स्थान पाएको घिमिरेको विश्लेषण थियो। लामो समय भारतमा बसेर पत्रकारिता गरेका सम्पादक घिमिरेले भने, “सन् १९९२ मा अयोध्यामा बाबरी मस्जिद नष्ट गरिएपछि भारतीय राजनीतिमा भाजपा स्थापित हुन थालेको हो।”
पत्रकार जेबी पुन मगरले सञ्चालन गरेकाे कार्यक्रममा सम्पादक घिमिरेले भारतको धर्मनिरपेक्षताको अभ्यासबाट नेपालले सिक्नुपर्ने बताए। “भारतीय समाजका कमजोरी हाम्रोमा नदोहोरिऊन् भन्ने चाहन्छौं भने त्यहाँ भएका कमजोरी थाहा पाउनुपर्छ,” घिमिरेले भने।
.jpg)
उनका अनुसार सन् १९५२ देखि नै नेपालमा आरएसएस सक्रिय छ। “इन्डिया बाहिर आरएसएस ‘हिन्दू स्वयंसेवक संगठन (एचएसएस)’ का नामले सक्रिय हुन्छ,” घिमिरेले भने।
कार्यक्रमका अर्का वक्ता हिमाल साउथएशियनका संस्थापक सम्पादक कनकमणि दीक्षितले नेपालमा हिन्दूत्व राजनीतिले पहिलेदेखि चलिआएको भारतीय संस्थापनको हस्तक्षेपलाई नै निरन्तरता दिइरहेको बताए। “नेपालमा हिन्दूत्व राजनीतिले कसरी काम गरिरहेछ भन्ने बुझ्नलाई सात सालपछि निरन्तर रहेको भारतको हस्तक्षेपको शृङ्खलासम्मै पुग्नुपर्छ,” दीक्षितले भने, “अहिले हिन्दूत्व हस्तक्षेपले जलस्रोत र हवाई यातायातमा नियन्त्रण गरेको छ।”
नेपाली राजनीतिमा भइरहेको हिन्दूत्वको विस्तार ‘क्लीयर एन्ड प्रिजेन्ट डेन्जर’ (प्रस्ट र तात्कालिक खतरा) भएको दीक्षितको ठम्याइ छ। “भारतीय हस्तक्षेपबारे विश्लेषण गर्ने र प्रतिकार गर्ने काम भइरहेको छैन,” मिडिया र प्राज्ञिक जगत्प्रति गुनासो गर्दै दीक्षितले भने, “कोठामा हात्ती छ, हामी कुनाको छुचुन्द्रो खोजेर हिंडेका छौं।”

नेपालमा आरएसएसको प्रभावको सङ्केत के छ भन्ने अन्नपूर्ण एक्सप्रेसका सम्पादक कमलदेव भट्टराईको प्रश्नमा घिमिरेले भने, “आरएसएसले देखिने गरी हस्तक्षेप गर्दैन, तर मलाई थाहा छ- उसका नेपाल प्रतिनिधिलाई अपवाद बाहेकका नेपाली नेताले बोलाएर स्वागत गरेका छन्।”
पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल भारत भ्रमणका क्रममा भाजपाको कार्यालय भ्रमण गएको प्रसङ्गलाई पनि उनले सोही सन्दर्भसँग जोडेर हेर्न आग्रह गरे। “स्टेट भिजिटमा निश्चित दलको कार्यालय भ्रमण किन?” घिमिरेको प्रश्न थियो।
पत्रकार दीक्षितले भने नेपाली पत्रकारिता जगत्मा पनि हिन्दूत्वको प्रभाव परेको उनीहरूको काम वा बेवास्ताबाट थाहा हुने दाबी गरे। “परराष्ट्र मन्त्री एनपी साउदकी पत्नी विश्व हिन्दू महासंघ नेपालका उपाध्यक्ष हुन्, तर त्यसबारे किन समाचार गएन?” उनको प्रश्न थियो।
.jpg)
नेपालमा आरएसएसको लक्ष्य के हो भन्ने कान्तिपुरका पूर्व प्रधानसम्पादक सुधीर शर्माको प्रश्नमा घिमिरेले भने, “नेपालमा उसले पृथ्वीनारायण शाहबारे नभई शिवाजी महाराजबारे पढाउँछ।” आरएसएसको आफ्नै विश्व दृष्टिकोण भएको र त्यसै अनुसार उसले अन्य मुलुकमा अभ्यास गर्ने गरेको घिमिरेको विश्लेषण थियो।