पक्राउ परेका २२ जनामाथि अनुसन्धान गर्न पाँच दिन म्याद थप
ललिता निवासको जग्गा हिनामिना प्रकरणमा पक्राउ परेका २२ जनामाथि अनुसन्धान गर्न प्रहरीले थप पाँच दिनको म्याद पाएको छ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले उनीहरूलाई बुधबार जिल्ला अदालत, काठमाडौंमा पेश गरेको थियो। अदालतले थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न समय दिएको सीआईबीका प्रहरी वरिष्ठ उपरीक्षक दिनेश आचार्यले बताए।
सीआईबीले उनीहरूसँग बयान लिने काम जारी राखेको छ। यसमा प्रहरीले एक महीनादेखि अनुसन्धान गरिरहेको छ।
कीर्ते तथा संगठित रूपमा सरकारी जग्गा हिनामिना गरेको आरोपमा पूर्व निर्वाचन आयुक्त सुधीरकुमार शाह, भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ, पूर्व सरकारी कर्मचारी धर्मप्रसाद गौतम र गोपाल कार्की लगायत २२ जना पक्राउ परेका थिए।
२०४९ देखि २०६९ सालसम्म सरकारको स्वामित्वमा रहेको बालुवाटारस्थित ललिता निवासको जग्गा विभिन्न व्यक्तिका नाममा नामसारी भएको फेला परेको थियो।
ललिता निवास प्रकरणमा यसअघि ३०० जनालाई प्रतिवादी बनाएर ब्यूरोले जिल्ला सरकारी वकीलको कार्यालयमा प्रतिवेदन बुझाएको थियो। तर, सरकारी वकीलको कार्यालयले थप अनुसन्धान गर्नुपर्ने जनाउँदै फाइल फिर्ता पठाएपछि ब्यूरोले पुनः अनुसन्धान थालेको हो।