जङ्गली च्याउ खाँदा बर्दघाटका दुई जनाको मृत्यु
जङ्गली च्याउ खाँदा नवलपरासी (बर्दघाट सुस्तापूर्व) को बौदिकाली गाउँपालिका-६ का दुई जनाको मृत्यु भएको छ।
जङ्गली च्याउ खाएर बिरामी परेका बौदिकाली-६ माझडाँडाका ९९ वर्षीया लीला आले र ६६ वर्षीया उमाकुमारी आलेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक (एसपी) भुवनेश्वर तिवारीले बताए।
उनीहरूले साउन ५ गते स्थानीय जङ्गलबाट टिपेको च्याउ खाएका थिए। च्याउ खाएपछि पाँच जना बिरामी भएका थिए। एसपी तिवारीका अनुसार बिरामी भएकामध्ये ललिता आले मगर, तारा आले र खगिरसार सिञ्जाली उपचारपछि निको भएका छन्।
गम्भीर बिरामी परेका लीला र उमाकुमारीको स्थानीय स्वास्थ्य चौकीमा उपचार हुन नसकेपछि चितवन मेडिकल कलेज, भरतपुर लगिएको थियो। उमाकुमारीको गएराति उपचारका क्रममा मृत्यु भएको स्थानीय नेत्रबहादुर सारूले बताए।
लीलाको उपचार हुन नसकेपछि आफन्तजनले घर लगेका थिए। “लीलालाई उपचार सम्भव नहुने भन्दै अस्पतालले फिर्ता गरेपछि घर लगेका थियौं। गएराति घरमै मृत्यु भयो,” नेत्रबहादुरले भने।
बिरामी अन्य तीन जना स्थानीय स्वास्थ्य चौकीमा उपचारपछि निको भएर घर फर्किएको उनले बताए। गत वर्ष पनि जङ्गलमा पाइने विषालु च्याउ खाएर स्थानीय बासिन्दाको मृत्यु भएको थियो।