सुन तस्करी प्रकरण छानबिन गर्न समिति गठन
भन्सार विभागले १०० किलो सुन तस्करी प्रकरणको छानबिन गर्न समिति गठन गरेको छ।
भन्सार विभागका अनुसन्धान शाखाका निर्देशक मानबहादुर पौडेलको नेतृत्वमा बिहीबार छानबिन समिति गठन गरिएको हो। विभागका महानिर्देशक शोभाकान्त पौडेलले छानबिनका लागि समिति गठन गरेको विभागका निर्देशक एवं सूचना अधिकारी पुण्यविक्रम खड्काले बताए।
“१०० किलो सुन तस्करी प्रकरणको छानबिन गर्न अनुसन्धान शाखाका निर्देशक मानबहादुर पौडेलको नेतृत्वमा छानबिन समिति गठन गरिएको छ,” खड्काले हिमालखबरसँग भने।
विभागले पौडेलको नेतृत्वमा सात सदस्यीय समिति गठन गरेको हो। समितिलाई पाँच दिनभित्र छानबिन प्रतिवेदन बुझाउन समय दिइएको खड्काले बताए।
गएराति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट गेट पास भएर आएको करीब १०० किलो सुन बरामद गरिएको थियो। विमानस्थलको गेटबाट ट्याक्सीमा बाहिर ल्याउँदै गर्दा राजस्व अनुसन्धान विभागको टोलीले बरामद गरेको थियो।
हङकङबाट ल्याइएको सुन कसको हो भन्ने खुलेको छैन। यसमा संलग्न रहेको आरोपमा ६ जनालाई पक्राउ गरिएको छ। अनुसन्धान जारी रहेको विभागले जनाएको छ।
यति ठूलो मात्रामा सुन कसरी पास भयो भन्ने छानबिन गर्न भन्सार विभागले समिति गठन गरेको हो। समितिले यसमा भन्सारका कर्मचारीको संलग्नताबारे पनि छानबिन गर्ने जनाइएको छ।