कांग्रेस केन्द्रीय समितिको बैठक ‘लाइभ’ गर्ने देउवाकाे प्रस्ताव
![कांग्रेस केन्द्रीय समितिको बैठक ‘लाइभ’ गर्ने देउवाकाे प्रस्ताव](https://www.himalkhabar.com/uploads/posts/800X600/sher_bahadur_deuwa_1660478271.jpg)
नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले केन्द्रीय कार्यसमितिको बैठक प्रत्यक्ष प्रसारण गर्ने प्रस्ताव गरेका छन्।
धुम्बाराहीमा सोमबार बसेको कांग्रेस पदाधिकारी र पूर्व पदाधिकारीको बैठकमा केन्द्रीय कार्यसमितिको बैठक प्रत्यक्ष प्रसारण गर्ने सभापति देउवाले प्रस्ताव गरेका हुन्। यसमा केही पदाधिकारीले सहमति जनाएका छन् भने केहीले असहमति जनाएका छन्।
बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै महामन्त्री विश्वप्रकाश शर्माले केन्द्रीय कार्यसमितिको बैठकको प्रत्यक्ष प्रसारण गर्ने विषय पनि आएको बताए। “सामान्य राजनीतिक दलको बैठक बन्द रूपमा हुने गरेको छ। सबैलाई बोल्न सहज होस् भनेर बन्द गरिन्छ,” महामन्त्री शर्माले भने, “नेपाली कांग्रेसले किन शुरूआत नगर्ने भनेर बैठकलाई ‘लाइभ’ गरौं भनिएको छ।”
प्रत्यक्ष प्रसारण गर्ने/नगर्ने विषयमा मंगलबार मात्रै टुङ्गो लाग्ने उनले बताए। शर्माले भने, “यो (लाइभ) हुन पनि सक्छ, नहुन पनि सक्छ। भोलि नै थाहा हुन्छ।”
आज केन्द्रीय कार्यसमितिको बैठकमा पेश हुने प्रतिवेदन र प्रस्तावबारे छलफल भएको कांग्रेस महामन्त्री शर्माले बताए। केन्द्रीय कार्यसमितिको बैठकका लागि १० वटा प्रस्तावमा छलफल भएको उनले बताए।
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक मंगलबार दिउँसो १ बजे बस्दै छ।