दुर्गा प्रसाईंसँग ३० करोड फिरौती माग्ने पक्राउ
![दुर्गा प्रसाईंसँग ३० करोड फिरौती माग्ने पक्राउ](https://www.himalkhabar.com/uploads/posts/800X600/CIB_1689072423.jpg)
गुरुङलाई आज काठमाडौंको महाराजगन्जबाट पक्राउ गरिएको हो।
मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग ३० करोड रुपैयाँ फिरौती माग्ने एक जनालाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले पक्राउ गरेको छ। खोटाङको रावाबेंसी गाउँपालिका-१ का ४० वर्षीय रमेशकुमार गुरुङ पक्राउ परेका हुन्।
गुरुङले प्रवेश लामाको नामबाट प्रसाईंलाई असार १३ गते साँझ फोन तथा एसएमएस गरेर उक्त रकम नबुझाए अपहरण गरी मारिदिने धम्की दिएको सीआईबीले एक विज्ञप्ति मार्फत जनाएको छ। “हत्या गर्नका लागि योजना बनिसकेको छ। सुरक्षित हुन चाहनुहुन्छ भने रकम दिनुपर्ने हुन्छ। तपाईंको नाम २ नम्बरमा छ,” सीआईबीले गुरुङको धम्कीलाई उद्धृत गर्दै विज्ञप्तिमा उल्लेख गरेको छ।
प्रसाईंले कबोल अनुसार रकम बुझाउन सहमत भई प्रहरीलाई खबर गरेपछि गुरुङ पक्राउ परेका हुन्। उनलाई असार २६ गते काठमाडौं महाराजगन्जबाट पक्राउ गरिएको हो।
उनलाई अपहरण तथा शरीर बन्धक उद्योग मुद्दामा अनुसन्धान तथा कारबाहीका लागि प्रहरी वृत्त महाराजगन्ज पठाइएको छ।