कोशीमा एमाले नेताहरूको हत्या गर्न खोजियोः योगेश भट्टराई
![कोशीमा एमाले नेताहरूको हत्या गर्न खोजियोः योगेश भट्टराई](https://www.himalkhabar.com/uploads/posts/800X600/Yogesh_Bhattarai_1653986087.JPG)
नेकपा (एमाले) सचिव योगेश भट्टराईले कोशी नामको विरोध गर्नेहरूले आफ्ना पार्टीका नेताहरूको हत्या गर्न खोजेको दाबी गरेका छन्।
एमाले अध्यक्ष केपी शर्मा ओली, उपाध्यक्ष सुवास नेम्बाङ, राम राना लगायतलाई आन्दोलनकारीले मार्न खोजेको सचिव भट्टराईको आरोप छ।
शुक्रबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै उनले भने, “हाम्रो पार्टीका अध्यक्ष केपी शर्मा ओली र संसदीय दलका उपनेता सुवास नेम्बाङ लगायतलाई झापाको चारआलीदेखि इलाम, पाँचथर र तेह्रथुमका सडकहरूमा अवरोध सिर्जना गर्ने, रूख ढाल्ने, गाडीमा ढुङ्गामुढा गर्ने, कालो झन्डा देखाउने र केही ठाउँमा एम्बुस समेत थापिएको थियो। त्यसको मतलब हाम्रा नेताहरूको हत्याको प्रयास भएको थियो भन्ने कुरा स्वाभाविक रूपमा बुझ्न सकिन्छ।”
बैठकमा भट्टराईले भने, “एम्बुस थापेर समेत मार्न खोजिन्छ भने यो बुद्धको देशमा के भइरहेको छ?”
प्रदेश सभाका ९३ मध्ये ८४ जनाले राखेको ‘कोशी’ नाम दुईतिहाइ ल्याएर बदल्न पनि उनले चुनौती दिए।
प्रदर्शनकारीको मृत्यु प्रहरीको गोली वा लाठीबाट नभई प्रदर्शनकारीले नै प्रहरीलाई हानेको लाठीले गर्दा भएको हुन सक्ने भट्टराईको अनुमान थियो। उनले कोशी प्रदेशमा आन्दोलनकारीले प्रहरीमाथि ज्यादती गरेको समेत बताए।