बाल यौन दुर्व्यवहारका अभियुक्त मदन राई चार लाख धरौटीमा छुटे
![बाल यौन दुर्व्यवहारका अभियुक्त मदन राई चार लाख धरौटीमा छुटे](https://www.himalkhabar.com/uploads/posts/800X600/madan_rai_1685972957.jpg)
बाल यौन दुरुपयोग कसूरमा पक्राउ परेका खोटाङका मदन राई चार लाख धरौटीमा छुटेका छन्।
सोमबार भएको थुनछेकको बहसपछि जिल्ला अदालत, खोटाङले चार लाख धरौटीमा छोड्ने आदेश दिएको जिल्ला अदालतका स्रेस्तेदार रामाकान्त यादवले बताए। चार लाख धरौटी बुझाएर राई छुटेको स्रेस्तेदार यादवले बताए।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मास्थित शुभद्रा मदन (शुभम) फाउन्डेशनका संस्थापक तथा सञ्चालक राई गत वैशाख २९ गते पक्राउ परेका थिए। उनीमाथि बालिकालाई यौन दुर्व्यवहार गरेको आरोप लागेको थियो। फाउन्डेशनमा सात वर्ष बसेकी १६ वर्षीया किशोरीले यौन दुर्व्यवहार गरेको भन्दै प्रहरीमा उजुरी दिएकी थिइन्।
जिल्ला न्यायाधीश शुभाषबाबु पुरीको एकल इजलासले मुद्दाको फैसला नभएसम्म फाउन्डेशनमा जान नपाउने गरी धरौटी तारेखमा छोड्ने आदेश दिएको स्रेस्तेदार यादवले बताए। राईका तर्फबाट १४ जना कानून व्यवसायीले बहस गरेका थिए।
उनी विरुद्ध जिल्ला सरकारी वकीलको कार्यालयले जेठ २१ गते जिल्ला अदालतमा बाल यौन दुरुपयोग सम्बन्धी मुद्दा दायर गरेको थियो। अभियोगपत्रमा राईलाई तीन वर्ष कैद र ७५ हजार जरिवाना माग गरिएको थियो।