प्रम दाहाल र भट्टराई विरुद्धको रिट दरपीठ विरुद्ध सर्वोच्चमा रिट दर्ता
![प्रम दाहाल र भट्टराई विरुद्धको रिट दरपीठ विरुद्ध सर्वोच्चमा रिट दर्ता](https://www.himalkhabar.com/uploads/posts/800X600/baburam_prachand_1645873353.jpg)
प्रधानमन्त्री पुष्पकमल दाहाल र पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई विरुद्धको रिट दरपीठ गर्ने सर्वोच्च अदालत प्रशासनको निर्णय विरुद्ध सर्वोच्चमा रिट दर्ता भएको छ।
पूर्व बालसेनाहरूका तर्फबाट लेनिन विष्टले जेठ १८ गते रिट दर्ता गरेका हुन्। रिटको पेसी २२ जेठलाई तोकिएको विष्टले जानकारी दिए।
प्रधानमन्त्री पुष्पकमल दाहाल र पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई विरुद्धको रिट दर्ता गर्न शुरूमा सर्वोच्च अदालत प्रशासनले अस्वीकार गरेको छ।
द्वन्द्वकालका घटना नियमित अदालतबाट नभई संक्रमणकालीन न्याय संयन्त्रले सम्बोधन गर्न उपयुक्त हुने भन्दै रजिस्ट्रार नारायणप्रसाद पन्थीले जेठ १६ गते रिट दर्ता नहुने आदेश दिएका थिए। त्यही निर्णय विरुद्ध रिट दर्ता भएको हो।
नेकपा (माओवादी केन्द्र)को दशक लामो सशस्त्र द्वन्द्वकालका बालसेनाहरूको योगदानको अवमूल्यन गरेको भन्दै पूर्व बालसेनाहरू लेनिन विष्ट, कृष्णप्रसाद दंगाल, रामेश्वर खड्का, शोभा रायमाझी, तुलसी नेपाल, सागरकुमार चौहान, मदन राई, राजन तामाङ र खेमबहादुर राई रिट लिएर सर्वोच्च अदालत गएका थिए।