आज गणतन्त्र दिवस, सैनिक मञ्चमा विशेष समारोह हुने

गणतन्त्र दिवसको अवसरमा सैनिक मञ्चमा आयोजना हुने विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल उपस्थित हुनेछन्।
आज १६औं गणतन्त्र दिवस रहेको छ। २०६५ जेठ १५ गते जननिर्वाचित पहिलो संविधानसभाबाट निरङ्कुश राजतन्त्रको विधिवत् अन्त्य गर्दै नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भको घोषणा भएको थियो।
राज्यको सम्पूर्ण शक्ति जनतामा निहित हुने गरी संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भ भएको दिनलाई गणतन्त्र दिवसका रूपमा मनाइँदै आएको छ।
गणतन्त्र दिवसको अवसरमा आज देशभर विविध कार्यक्रम आयोजना गरिंदै छ। काठमाडौंको टुँडिखेलस्थित सैनिक मञ्चमा गणतन्त्र मूल समारोह समितिले विशेष समारोह आयोजना गर्नेछ। समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल उपस्थित हुनेछन्।